बलिउडका महानायक तथा 'कौन बनेगा करोडपति’का सञ्चालक अमिताभ बच्चनले कार्यक्रमको ग्राण्ड फिनालेका लागि १२ घण्टा लगातार छायांकन गरेका छन्।
कौन बनेगा करोडपति(केबिसी) सिजन ११ को कार्यक्रमको छायांकन बुधबार सकिएको हो।
७७ वर्षीय कलाकार बच्चनले गत सोमबार लगातार १२ घण्टा काम गरेको टिभी प्रड्युसर सिद्धार्थ बासुले मंगलबार आफ्नो ट्वीटरमार्फत् बताएका छन्।
'उनी एकल सेना, ध्यान केन्द्रित, बलिया र युवा जस्तै तागत भएका हुन्', उनले लेखेका छन्,'हिजो १२ घण्टासम्म काम गरे, आज पनि त्यस्तै हुनेछ।'
बासुले बुधबार साँझ ट्वीट गर्दै कार्यक्रमको एउटा भागमात्रै बाँकी रहेको जानकारी दिए।
केबिसी ११ मा चार सहभागीले एक करोड रुपैयाँ जितिसकेका छन्।
उक्त कार्यक्रमको फिनाले भने नोभेम्बर २३ तारिखका दिन प्रसारण गरिने छ।
केही समयअघि बिरामी परेका अमिताभको यो खटाइले उनी पुन: तन्दुरुस्त भएको देखाएको छ।