बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाले सम्बन्ध विच्छेद गरेका छन्। अर्जुन र मेहरको २१ वर्षे लामो वैवाहिक सम्बन्ध विच्छेदका लागि मुम्बई फ्यामिली कोर्टले अनुमति दिएको हो।
अर्जुन र मेहरले गत वर्ष नै आफूहरूले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए। अदालतमा पेश भएको उनीहरूको पारपाचुके प्रक्रियामाथि न्यायाधीश सैलजा सावंतले फैसला गरेका हुन्। अर्जुन र मेहरका दुई छोरी (माहिका र मायरा) आमा मेहरसँगै रहने फैसला अदालतले गरेको छ।
यो जोडीको विहे सन् १९९८ भएको थियो।
आफूहरूको सम्बन्ध अब अगाडि नबढाउने भन्दै गत वर्ष उनीहरूले संयुक्त भनाइ राखेका थिए।
‘माया र प्यारा यादहरूले भरिएको २० वर्षको सुन्दर यात्रा पार गरिसकेपछि अब हाम्रो बाटो अलग भएको छ। हामीलाई लाग्छ, हाम्रो फरक फरक गन्तव्यतिर मोडिने समय आएको छ। आगामी दिनमा पनि आफ्ना लागि र आफन्तका लागि बलियो भएर उभिने छौं,’ उनीहरूले भनेका थिए।
अर्जुन रम्पाल हाल साउथ अफ्रिकन मोडल तथा अभिनेत्री ग्याब्रिएला डेमेट्रिएड्ससँग सम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।