#मिटु आरोपी बलिउड गायक तथा संगीतकार अनु मलिकले कार्यक्रम 'इन्डियन आइडल' छाडेका छन्। सोनी टिभीमा प्रसारण हुने यो कार्यक्रममा अब अनु मलिक नदेखिने च्यानलले पुष्टि गरेको छ।
गत वर्ष गायिक सोना मोहापत्रा र केही महिलाले अनुमाथि यौनदुर्व्यवहारको आरोप लगाएका थिए। यसपछि पोहोरको 'इन्डियन आइडल' बाट पनि उनी निकालिएका थिए। एक वर्षसम्म कुनै सार्वजनिक टिभी कार्यक्रममा नदेखिएका अनु यस वर्षको इन्डियन आइडलमा पुनः आएका थिए।
कार्यक्रममा जज बनेर आएका अनुमाथि सोनासहित नेहा भासिन र स्वेता पण्डितले उनीविरूद्ध आवाज उठाएका थिए। उनीहरूले सार्वजनिक रूपमै सामाजिक सञ्जालहरूमा 'यौनदुर्व्यवहार आरोपीलाई कसरी च्यानलले जजका रूपमा कार्यक्रममा देखाउन सक्छ, अरू गायिकाले कसरी सहेर बसेका छन्' लगायत प्रश्न उठाएका थिए।
गायिकाहरूको प्रश्न र आरोप अनुले भने गलत भन्दै पन्छिदै आएका भए पनि यसबारे कुनै पुष्टि भइसकेको छैन। उनले आफैं कार्यक्रम छाडेको भन्दै आफूविरूद्ध लागेका आरोपको न्याय खोज्ने पनि बताएका छन्।
उनले आफूले तीन साताको 'ब्रेक' लिएको र आफ्नो नाम 'क्लियर' गरेर कार्यक्रममा फर्किने बताएका छन्। सोना महापात्राले भने अनुले कार्यक्रम छाडे पनि सोनी च्यानलले सार्वजनिक माफी माग्नुपर्ने बताएकी छन्।