बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ। २६ वर्षीया सायमा विगत आठ वर्षदेखि क्यान्सरग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आफ्नी बहिनीको निधनबारे नवाजुद्दीनकै परिवारले जानकारी दिएको एनडिटिभीले लेखेको छ। सायमा १८ वर्षको उमेरदेखि नै स्तन क्यान्सरबाट पीडित थिइन्। वर्षौंसम्म रोगसँग लड्दै आएकी उनको गत शनिबार निधन भएको हो।
एनडिटिभीका अनुसार सायमाको निधन भएका बेला नवाजुद्दीन अमेरिकामा सुटिङ गरिरहेका थिए। सायमाको अन्तिम संस्कार आइतबार उत्तर प्रदेशको बुढानामा गरियो।
नवाजुद्दीनले गत वर्ष अक्टोबरमा आफ्नी बहिनी सायमाको २५ औं जन्मदिनको बधाइ दिँदै ट्विट गरेका थिए। त्यही बेला सायमको रोगबारे पनि जानकारी दिएका थिए।
उनले लेखेका थिए, 'मेरी बहिनीलाई १८ वर्षदेखिनै एडभान्स स्टेजको स्तन क्यान्सर भएको थियो। तर उसको ऊर्जा र उत्साहका कारण आज पनि उनी खडा छिन्। बहिनी २५ वर्षकी भइन्, र अहिले पनि संघर्ष गरिरहेकी छन्।'