सिनेमाजगतमा रजनीकान्त भनेर चिनिने शिवाजी राव गायकवाड बिहीबार ६९ वर्ष लागे।
१२ डिसेम्बर १९५० मा बैंगलोरमा जन्मेका रजनीकान्तले अहिलेसम्म १६० भन्दा बढी फिल्म खेलिसकेका छन्।
रजनी भारतमा मात्र होइन, संसारका धेरै देशमा लोकप्रिय सुपरस्टार मानिन्छन्।
तर फिल्मी जीवनमा उनको स्टारडम सधैं यस्तो थिएन। ७० दशकमा उनी सामान्य अभिनेता नै थिए। यति सामान्य कि उनलाई फिल्म साइन गरेपछि केही पैसा अग्रिम भुक्तानी माग्दा फिल्मबाटै निकालिएका थिए।
भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार रजनीले एक फिल्म साइन गरेका थिए। उनले निर्मातासँग केही रकम 'एड्भान्स' मागेका थिए।
तर निर्मातालाई झोंक चल्यो वा अरू नै कारण थियो, उनले रजनीलाई फिल्मबाटै निकालिदिए।
यो कुराको जानकारी रजनी आफैंले दिएका हुन्। उनका अनुसार यो घटना सन् १९७७ को हो। त्यो बेला उनको तमिल '६ वयाथिनिले' रिलिज भएको एक साता मात्र भएको थियो।
उनले भनेका छन्, 'त्यो बेला मैले केही मात्र फिल्म खेलेको थिएँ। तर '६ वयाथिनिले' ले मलाई तमिलनाडुको कुनाकुनामा चर्चित बनाइदियो। यही बेला एक निर्माताले मलाई राम्रो भूमिमका अफर गरेका थिए। त्यसमा मुख्य भूमिकामा अरू नै कोही अभिनेता थिए। म खाली भएकाले मैले फिल्म गर्ने भएँ र दस हजार (भारु) मागेँ। पछि ६ हजारमा कुरा मिल्यो। त्यो बेला एड्भान्सका रूपमा एक-दुई सय रूपैयाँ दिने चलन थियो। मैले हजार रुपैयाँ मागेको थिएँ। निर्माताले पैसा अहिले छैन, भोलि म्यानेजर आएपछि दिउँला भनेका थिए। तर भोलिपल्ट जब म्यानेजर आए, उनलाई त यसबारे केही जानकारी नै रहेनछ।'
रजनीका अनुसार त्यसपछि उनले निर्मातालाई फोन गरे। निर्माताले उनलाई फेरि भोलि सुटिङ लोकेशनमा मेकअप गर्नुअघि नै दिने आश्वासन दिए।
रजनीलाई विश्वास लागेको थिएन।
'भोलिपल्ट प्रोडक्शन म्यानेजरले हिरो (मुख्य अभिनेता) आइसके, मेकअप गर्नुस् भने। मैले एड्भान्स पाएको थिइनँ। यसकारण मेकअप गर्न मानिनँ।
पछि निर्माता आए र मलाई 'के तिमी आफूलाई बिना एड्भान्स काम नगर्ने हिरो सम्झन्छौ? तिम्रो लागि यो फिल्ममा कुनै भूमिका छैन अब। जाऊ' भने,' रजनीले ती दिन सम्झिँदै सुनाएका छन्।
यसपछि सुटिङ भइरहेको ठाउँबाट आफूलाई घरसम्म उनको गाडीमा पुर्याइदिन भने पनि निर्माताले मानेनन्।
उनी दिक्क हुँदै फर्केका थिए। बसमा उनलाई सर्वसाधारणले देखेर बोलाएका थिए रे। तर उनलाई भने आफ्नो अवस्था देखेर विरक्त लागेको थियो।
त्यही दिन उनले कसम खाएका थिए रे- एक दिन यो सडकमा विदेशी गाडी लिएर हिँडिन भने मेरो नाम रजनीकान्त नै होइन।
अढाइ वर्षपछि उनले चार लाख भारुको फियाट गाडी किनेका थिए।