भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुबारे आपत्तिजनक टिप्पणी गरेपछि बलिउड अभिनेतृ पायल रोहत्गी पक्राउ परेकी छिन्।
गत अक्टोबरमा पायलले नेहरु परिवारबारे टिप्पणी गरेपछि आइतबार राजस्थानको बुन्दी प्रहरीले पायललाई पक्राउ गरेको हो। अहिले उनी हिरासतमा छिन्। पायलले आफ्नो फेसबुक मार्फत भिडिओ बनाई टिप्पणी गरेकी थिइन्।
उनले जवाहरलाल नेहरुका पिता मोतीलाल नेहरु र जवाहरलालका श्रीमतीको बदनाम गरेकी थिइन्। उक्त भिडिओ सार्वजनिक भएपछि कंग्रेसका युवा नेता चर्मेस शर्माले सामाजिक सञ्जाल मार्फत गाली गलौज गरेको आरोपमा मुद्दा दायर गरेका थिए।
प्रहरीले यसबारे प्रश्नको उत्तर दिन माग समेत गरेको हिन्दुस्तानले जनाएको छ। उनले आफ्नो टिप्पणीबारे माफी समेत मागेकी थिइन्। शर्माले उक्त भिडिओले भारतको सम्बन्ध अरु राष्ट्रसँग बिग्रिने भन्दै विरोध गरेका थिए।
पायल बलिउड अभिनेतृका साथै मोडेल समेत हुन्। यसअघि पनि उनी विभिन्न मुद्दामा टिप्पणी गर्दै पटकपटक विवादमा तानिएकी छिन्।