बलिउड स्टार सन्जय दत्त लामो समयदेखि आफ्नो परिवारबाट टाढिएका छन्।
सन्जय मुम्बईमा छन् भने उनकी पत्नी मान्यता दत्त र बच्चाहरू दुबईमा छन्।
मान्यता र बच्चाहरु दुबई बसेको एक महिना भन्दा बढी भइसक्यो।
कोरोना भाइरस लकडाउनका कारण उनीहरु मुम्बई आउन सकिरहेका छैनन्।
यसले सन्जयलाई चिन्तामा पारेको छ।
'लकडाउन भन्दा अघि दुबई गएका थिए। तर अहिले घर फर्केर आउन सकेका छैनन्', संजयले चिन्ता व्यक्त गरे।
भारतीय मिडिया वेबसाइट डिएनएमा प्रकाशित समाचार अनुसार सन्जय दत्तले पत्नी र बच्चाहरूसँग दिनदिनै च्याट गर्ने गरेको बताएका छन्।
'म दिनदिनै बच्चाहरूसँग फेसटाइम च्याट गर्छु। तर उनीहरूको चिन्ता सधै रहन्छ', उनले भने 'मैले जीवनको केही समय लकडाउनमा बिताएको छु। पहिले र अहिले सधै म आफ्नो परिवारलाई सम्झिरहेको हुन्छु।'
'मेरो लागि मेरो परिवार नै सबथोक हो। यो प्रविधिलाई धन्यवाद दिन चाहन्छु किनभने यसको कारण मैले उनीहरूलाई देख्न सकिरहेको छु। म दिनमा धेरै पटक उनीहरूसँग कुरा गर्छु। उनीहरुलाई धेरै सम्झिरहेको छु। यो समय यस्तो छ कि यसले जीवनमा परिवारको मूल्य के हो भनेर बताउँछ', संजयले थपे।