‘कौन बनेगा करोडपति’ को १३ औं सिजन सुरु भएको छ। भारतको चर्चित कार्यक्रममध्ये पर्ने यो कार्यक्रम अभिनेता अमिताभ बच्चनले सञ्चालन गरिरहेका छन्।
कार्यक्रममा भाग लिएर प्रतियोगीहरुले प्रश्नको सही जवाफ दिइ लाखौँदेखि एक करोडसम्म जित्न सक्छन्। प्राय: गम्भीर विषयमा मात्र कुराकानी हुने ‘कौन बनेगा करोडपति’को बुधबारको एपिसोडमा भने दर्शकले अमिताभ नयाँ रुप देख्न पाए।
सो एपिसोडमा उनी आफ्ना महिला प्रतियोगीसँग जिस्किरहेका थिए। बुधबारको एपिसोडमा उपस्थित भएकी नम्रता साह र अमिताभ प्रश्न–उत्तर गर्ने क्रममा नै एकअर्कालाई प्रशंसा गरिरहेका थिए। एउटा क्षणमा आएर अमिताभले निर्मातालाई कार्यक्रम बीचमा रोक्न लगाए।
नम्रतालाई आफूसँग चिया खुवाउन लाने इच्छा भएको भन्दै उनले कार्यक्रम रोक्न लगाएका हुन्। नम्रतासँग चिया खान जाने चाहना भएपनि उनको श्रीमान र छोरा त्यही हुनाले अलि अप्ठ्यारो भएको अमिताभले बताएका थिए।
अमिताभ नम्रतासँग जिस्किरहँदा उनका श्रीमान अजय साह र छोरा कुर्तर्थ दर्शकको रुपमा त्यही उपस्थित थिए। उनीहरु पनि अमिताभको कुरा सुनेर हाँसिरहेका थिए। ‘तपाईंको श्रीमान र छोराले सुनिरहनु भएको हुनाले मात्र चिया खान प्रस्ताव गरेको हो,’ अमिताभले भने, ‘नत्र भए खाना खुवाउन रेष्टुरेन्ट नै लिएर जाने थिएँ।’
अमिताभको कुरा सुनेर नम्रता लजाइरहेकी थिइन्। उनले अमिताभलाई ‘अमिताभ जी’ भनेर सम्बोधन गर्न मिल्छ वा मिल्दैन भनेर प्रश्न गरेकी थिइन्, जसको जवाफमा उनले आफूलाई अमिताभ मात्र भनेर बोलाउन भनेका थिए। सो एपिसोडमा नम्रता २५ लाख भारु जितेकी थिइन्। उनले पचास लाख भारुको प्रश्नको उत्तर दिन नसकेपछि कार्यक्रम छोडेकी हुन्।