दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ओटीटी प्लेटर्फममा प्रदर्शन हुने भएको छ।
यो फिल्म जून २ बाट नेटफ्लिक्समा प्रदर्शन हुँदैछ। नेटफ्लिक्सले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै लेखेको छ, ‘के तपाईं सुन्दै हुनुहन्छ। हामी चिच्याइरहेका छौँ। आरआरआर हिन्दी भाषामा नेटफ्लिक्सबाट प्रदर्शन हुँदैछ।’
‘आरआरआर’ तमिल तेलुगू, कन्नड र मलयालम भाषामा मे २० देखि जी-फाइभमा प्रदर्शन हुँदैछ। यी भाषामा प्रदर्शन भएको फिल्ममा अंग्रेजी सबटाइटल दिइने भारतीय सञ्चार माध्यम अमर उजालामा उल्लेख छ।
मार्च २४ मा फिल्म हलमा प्रदर्शन भएको फिल्मले विश्वव्यापी रुपमा आक्रमक व्यापार गरेको छ। फिल्मले विश्वव्यापी रुपमा *११ सय करोड भारुभन्दा बढी व्यापार गरिसकेको छ भने केही हलमा यो फिल्म अझै प्रदर्शन भइरहेको छ।
तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जीवनीबाट प्रभावित ‘आरआरआर’लाई दर्शकले अत्यधिक मन पराएका छन्।
एसएस राजामौलीको निर्देशनमा बनेको फिल्ममा जुनियर एनटिआर, रामचरणसँगै बलिउड अभिनेत्री आलिया भट्टको अभिनय रहेको छ। यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन्।