अभिनेता ड्यानियल क्रेगले अन्तिम पटक जेम्स बोन्ड बन्ने भनिएको फिल्मको २५औं श्रृखंलाबाट अन्तिम समयमा निर्देशक ड्यानी बोयलले हात झिके।
उनले फिल्म छाड्नुको कारण 'रचनात्मक मतभिन्नता' बताइयो। अक्सर कसैले फिल्मबाट हात झिक्दा 'रचनात्मक मतभिन्नता'लाई कारण मान्नु फिल्म दुनियाँमा चलेको सजिलो बाहना हो जबकी कारणहरू अक्सर अन्य हुनेगर्छन्।
ड्यानीले जेम्स बोन्ड श्रृखंलाको २५ औं फिल्म छाडे भन्ने कुराले धेरैलाई अचम्ममा पारेको थियो।
'रचनात्मक मतभिन्नता'सँगै ड्यानीले फिल्ममा एक नाम नसुनिएका अभिनेतालाई बोन्ड फिल्मको खलनायक बनाउन लागेको कुरामा फिल्म निर्माण पक्ष असहमत नभएपछि उनी अलग भएको खबर पनि बाहिरिएको थियो।
तर हाल आएर त्यस प्रसंगमा नयाँ कुरा बाहिर आएको छ।
चर्चित बेलायती ट्याबलोइड 'द सन'का अनुसार फिल्मको प्लटमा कुरा नमिलेपछि बोयलले फिल्मबाट अलग हुने निर्णय गरेका हुन्।
बोन्डको यस श्रृखंलामा अभिनेता क्रेग र निर्माता बारबरा ब्रोस्ली बोन्डलाई फिल्मको अन्तिममा मरेको देखाउन चाहन्थे र यी दुबैको यो सोच बोयलले 'वाइयात' भनेपछी उनीहरू बिच असमझदारी उत्पन्न हुन गयो।
द सनमा प्रकाशित समाचार अनुसार फिल्मको अन्त्यमा बोन्डलाई मारेपछि अर्को श्रृखंलाका लागि नयाँ खाले ट्वीस्ट आउने बाटो खुल्ला हुने अभिनेता क्रेग र निर्माता बारबराको सोच थियो जसलाई बोयलले अस्वीकार गरे।
यससँगै बोन्ड नमरेको वा बोन्ड भूमिकाका लागि डक्टरको सहारामा नयाँ बोन्ड जन्माउने प्लट राख्ने सोचको बारेमा छलफल भएको थियो, जसमा बोयल सहमत हुन सकेनन् र उनी फिल्मबाट अलग भए।