हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले मुद्रा निर्मलीकरण र घुसखोरी मुद्दामा बयान दिएका छन्।
उनले सोमबार संघीय अदालतमा अन्तर्राष्ट्रिय मुद्रा निर्मलीकरणको मुद्दामा बयान दिएका हुन्। मलेसियन फाइनान्सर लो तेक झोसँगको राम्रो सम्बन्धक कारण उनसँग बयान लिइएको हो।
लो तेक झोमाथि अर्बौं डलर चोरीको आरोप छ। उनी झो लो भनेर परिचित छन्। उनी केही समयदेखि फरार छन्।
डिकाप्रियोले २०१० मा लस भेगासमा एउटा जन्मदिनको पार्टीमा लोलाई भेटेका थिए।
‘मैले उहाँलाई अबु धाबी र मलेसियामा धेरै फरक सम्पर्कहरू भएको ठूलो व्यापारी भएको चिनेँ,’ उनले अदालतमा बयानका क्रममा भने।
लोले डिकाप्रियोको फिल्ममा समेत लगानी गरेका छन्।
‘उनी फिल्ममा लगानी गर्न चाहने एक राम्रो व्यवसायी थिए। उनले ओबामाको पुन: निर्वाचित अभियानमा योगदान दिन चाहेको समेत बताएका थिए,’ उनले भने।
लोलाई ओबामाको अभियानमा योगदान दिन मिशेलले सम्पर्क गरेका थिए। रिचर्ड क्रोमिका र उनका श्रीमान जोसेफले ओबामा अभियानका लागि ८० हजार डलर पठाएका थिए। त्यस्तै एनएफएलका पूर्व खेलाडी ज्याक ब्रेकरले ३२ हजार डलर दिएका थिए।
मिशेलले विदेशी संस्थाबाट आएका अनुदान रकम २१.६ मिलियन डलर आफ्नो खातामा सार्न निर्देशन दिएका थिए।