अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। उनी मार्भल कमिक्सका पूर्व प्रमुख तथा 'मास्टर माइन्ड' हुन्।
प्रसिद्ध 'सुपर हिरो' स्पाइडर–म्यान, दि हल्क, थोर, एक्स–मेन लगायतका सह-परिकल्पनाकार स्टान लीले 'दि एभेन्जर्स' फिल्ममा क्यामियो भूमिका गरेका थिए।
स्टानलाई सोमबार बिहान लस एन्जलसस्थित सेडार्स-साइनल मेडिकल अस्पताल पुर्याइएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन्। त्यहीँ उनको निधन भएको उनकी छोरी जेसीले जानकारी दिएकी छन्। गत वर्ष स्टानले आफू निमोनियाले पीडित भएको बताएका थिए। त्यहीबेला देखि नै उनको स्वास्थ्य नाजुक थियो।
गत वर्ष नै उनकी ९५ वर्षीया श्रीमती जोआनको पनि 'स्ट्रोक' का कारण निधन भएको थियो। उनीहरूको ६९ वर्ष लामो वैवाहिक सम्बन्ध थियो।
सन् १९२२ मा न्यूयोर्कमा जन्मेका स्टान लीको पूरा नाम स्टान मार्टिन लीबर हो।
उनलाई विश्वभरबाट श्रद्धाञ्जली दिइएको छ। छोरी जेसीका अनुसार उनी आफ्ना फ्यानहरूलाई निकै मनपराउँथे।
स्टानको परिकल्पनाका पात्रहरूको भूमिका निर्वाह गर्ने कलाकारहरूले उनको निधनले ठूलो क्षति भएको बताएका छन्।
'हामीले विशिष्ट लेखक गुमाएका छौं। स्टान ली सुपरहिरो ब्रह्माण्डका अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो,' 'वुल्भराइन' का मुख्य अभिनेता ह्युज ज्याकमानले भनेका छन्, 'उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु।'
त्यस्तै 'आइरन म्यान'मा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले आफू उनीप्रति कृतज्ञ भएको बताउँदै स्टानको शान्तिबास कामना गरेका छन्।
क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद नहुने बताएका छन्।
'दशकौंसम्म स्टानले युवा र वयस्क सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, मित्रता र आनन्दित तुल्याउनुभयो,' इभान्सले भनेका छन्, 'उहाँ जस्तो मान्छे अब सायदै जन्मेला।'
मार्भल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताए।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)