भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको बिहे नजिकिएको छ। यही डिसेम्बर २ मा उनीहरूको बिहे जोधपुरमा हुँदैछ।
प्रियंका–निकको बिहे पूजा, संगीत, मेहन्दी कार्यक्रम गरी चार दिनसम्म चल्ने सञ्चारमाध्यमले जनाएका छन्। यसको सुरूआत भइसकेको छ। संगीत कार्यक्रमका लागि बलिउड नृत्य निर्देशक गणेश हेग्डे पनि जोधपुर गएका छन्।
बिहेमा उपस्थित हुन प्रियंका र निक जोधपुरमा छन्।
प्रियंकाकी आमा मधु चोपडा, बहिनी परिणिती चोपडा र परिवारका अरू सदस्य पनि पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
निकको तर्फबाट उनका भाइ जो जोनास र उनकी हुनेवाला श्रीमती सोफी टर्नर पनि अमेरिकाबाट आएका छन्। सोफी उनै हुन्, जसले चर्चित अमेरिकी टिभी श्रृंखला ‘गेम अफ थ्रोन्स’ मा सान्सा स्टार्कको भूमिका निर्वाह गरेकी थिइन्।
प्रियंका ३६ वर्षकी भइन् भने निक २६ वर्षका। निक गायकसँगै अभिनेता पनि हुन्। प्रियंकाले हलिउडमा काम गर्नेक्रममा उनीहरूको भेट भएको थियो। सन् २०१७ को मेट गालामा उनीहरू पहिलोपटक सँगै देखिएका थिए। अर्को वर्षसम्म उनीहरू प्रेममा रहेको समाचारहरू आउन थालिसकेका थिए। उनीहरू थुप्रै ठाउँमा सँगै भएका तस्बिर पनि सार्वजनिक भए।
यसको केही महिनापछि भने सामाजिक सञ्जालमा प्रियंका र निकले खुलेरै एक-अर्काका लागि कमेन्ट गर्न थाले। यसपछि भने उनीहरूको प्रेम सबैसामु खुलस्त हुँदै गयो। उनीहरू सँगै भारत पनि आए।
जुलाइमा प्रियंकाको जन्मदिन मनाउन गएका बेला उनीहरूले इंगेजमेन्ट गरेका थिए। तर भारत फर्केर फेरि उनीहरूले भारतीय परम्पराअनुसार 'रोका' पनि गरे।
यी जोडीको बिहे भारतसँगै अमेरिकी मुलुकमा पनि चर्चा बनेको छ।
उनीहरूको बिहे जोधपुरको उमैद भवनमा हिन्दू संस्कारसँगै क्रिश्चियन परम्पराअनुसार पनि हुनेछ। यो भवन जोधपुरका रावपरिवारको हो। यसलाई तीन हिस्सामा बाँडिएको छ। एक हिस्सामा संग्रहालय, अर्कोमा ताज होटल र अर्कोमा राजपरिवारकै सदस्य बस्दै आएका छन्।