एक समय हलिउड अभिनेता जोनी डिप अर्का हलिउड अभिनेता टम ह्यांक्ससँग असाध्यै डराएका रहेछन्। हालै जोनीको एक पुरानो अन्तरवार्ता पुनः सतहमा आएपछि सोको खुलासा भएको हो।
उनलाई चर्चामा ल्याउने 'एडवाड सिजरह्यान्ड' सिनेमाबाट टमले प्रतिस्थापन गरिदान भन्ने ठूलो डर रहेछ। उनी कतै आफू टमको प्रवेश भएर आफू बाहिरिनु त पर्दैन भनेर असाध्यै नै डराएका रहेछन्।
सन् १९९० मा टिम बुर्टनको निर्देशनमा बनेको डार्क फ्यान्ट्यासी फिल्ममा जोनीले एक कृत्तिम मानवको भूमिकामा काम गरेका छन्। जोनीको करियरको महत्वपूर्ण मोड मानिएको यस फिल्मलाई 'कल्ट सिनेमा'को श्रेणीमा राखिन्छ।
सन् १९९९ मा जोनीले चार्ली रोसलाई दिएको अन्तरवार्तामा एक घटनाको सम्झना गर्दै जोनीले आफू सिनेमाबाट निकालिनेमा विश्वस्त रहेको बताएका छन्।
'म सिजरह्यान्डस् गर्दै गरेको सम्झन्छु, हामी एउटा रिसोर्टमा वा त्यस्तै ठाउँमा बसिरहेका थियौं, ढोकामा ढकढकको आवाज आयो। त्यतिबेला अपरान्हको समयमा सबैजना रिहर्सल गरिरहेका थियौं । ढोकामा दुई युवती थिए। मैले सोचें उनीहरूले मलाई भेटाए र अब अटोग्राफ माग्ने होलान्' उनले अन्तरवार्तामा भनेका छन्, ' त्यसैले मैले ढोका खोलें र के छ भनेर सोधे? उनीहरूले के यहाँ टम ह्यान्स छन्? के उनी यहीं बस्छन्? सोधे। अनि म सिनेमामा टमले मलाई प्रतिस्थापन गर्दैछन् भनेर आस्वस्त भएँ। त्यो मेरो करियरको एउटा असाध्यै डराउने क्षण थियो।'
जोनी डराए पनि आखिरमा त्यस्तो कुनै परिवर्तन सिनेमा भएन। त्यसपछि पनि जोनीले बुर्टनसँग धेरै सिनेमामा सहकार्य गरे।