हलिउड अभिनेता इसाक कैपीले आत्महत्या गरेका छन्। एरिजोनाको सुरक्षा विभागले ४२ वर्षिय अभिनेताले आत्महत्या गरेको जनाएको हो। युएसए टुडेका अनुसार इसाकले एजिजोना स्थित फ्लैगस्टाफमा रहेको एक पुलबाट राजमार्गमा हामफालेर आत्महत्या गरेका हुन्।
उनले अमेरिकन सुपरहिरो सिनेमा 'थोर'मा समेत अभिनय गरेका छन्। आत्महत्या गर्नु अगाडी उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट लेखेका थिए।
पोस्टमा उनले आफूलाई सँधै राम्रो मान्छे सोचे पनि राम्रो मान्छे बन्न नसकेको उल्लेख गरेका छन्। उनले जीवनभर आफू एउटा खराब मानिस बनेको लेखेका छन्। उनले आफूले थुप्रै मानिसलाई धोका दिएको, लागुऔषध चोरेको तथा आफ्नै शरिरलाई हानी गर्नुका साथै आफूले गरेको कामप्रति लज्जाबोध भएको जनाएका छन्।
पोस्टमा उनले आफूलाई जुवाडे तथा ठूलो धोकेबाजका रूपमा चित्रण गरेका छन्।
उनले हलिउडका कयौं ठूलो सिनेमामा साना भूमिकामा अभिनय गरेका छन्। सन् २०११ मा आएको 'थोर'मा उनले काम गरेका छन् भने सन् २००९ मा रिलिज भएको 'टर्मिनेटर साल्वेशनमा समेत काम गरेका छन्। यस वर्ष रिलिज भएको 'फ्यान व्वाईज'मा पनि उनको अभिनय रहेको छ।