हलिउड अभिनेत्री स्कारलेट जोहान्सनको नयाँ फिल्म 'ब्ल्याक विडो' अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने भएको छ।
'एभेन्जर्स'बाट चर्चित पात्र ब्ल्याक विडोको कथामा आधारित फिल्म आगामी अप्रिल ३० मा भारतमा रिलिज हुने भएको हो। फिल्म अंग्रेजी, हिन्दी, तमिल, तेलेगु, मलयम र कन्नड गरी ६ भाषामा रिलिज हुँदैछ।
डिज्ने भारत, स्टुडियो इन्टरटेनमेन्टका प्रमुख बिक्रम दुग्गलले केही वर्षयता मार्भल फिल्मले भारतकीय मनोरञ्जन क्षेत्रमा कायापलट गरेको बताएका छन्।
'चाहे आइरन म्यान होस्, क्याप्टेन अमेरिका, थोर वा हल्क, सबैले यहाँका दर्शक तानेका छन्। अझ नयाँ सुपरहिरो ब्ल्याक प्यान्थर, डक्टर स्ट्रेन्ज र क्याप्टेन मार्भल समेत लोकप्रिय छन्,' उनले भने, 'झन् ब्ल्याक विडो त भारतमा धेरै चर्चित छ। नताशा रोमानोफ जासुस, व्यवसायिक हत्यारा र एभेन्जर भइसकेकी छन्। र, पनि उनको पात्र रहस्यमयी छ। फ्यानहरू उनको कथा जान्न चाहन्छन्। उनको मात्र कथा आएको छैन। भारतीय फ्यानले अमेरिकाभन्दा पहिल्यै उनको कथा थाहा पाउनेछन्। यो हाम्रो लागि खुसीको कुरा हो।'
'ब्ल्याक विडो'मा नताशा रोमानोफको विगतबारे देखाइएको छ। यो फिल्म 'एभेन्जर्सः एन्डगेम'पछि मार्भलको नयाँ काम हो। 'आइरन म्यान' अर्थात् रोबर्ट डाउनी जुनियर र अरू सुपरहिरो पनि 'ब्ल्याक विडो'मा देखिने बताइएको छ।