अमेरिकामा भर्खरै सम्पन्न ९२ औं ओस्कारमा गत वर्ष सर्वाधिक चर्चामा रहेको दक्षिण कोरियाली सिनेमा 'प्यारासाइट' उत्कृष्ट सिनेमा घोषित भएको छ।
बोङ् जुन हो निर्देशित सिनेमाले 'जोकर' 'द आइरिसम्यान', '१९१७', 'वान्स अपन अ टाइम', 'फोर्ड भर्सेज फरारी', 'जोजो र्याबिट', 'लिटल उमन' र 'म्यारिज स्टोरी'लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको हो।
'प्यारासाइट'ले ओस्कारमा योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ।
अवार्ड जितेसँगै 'प्यारासाइट' ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी भाषाको सिनेमा बनेको छ।
ओस्कारको ९२ संस्करणको इतिहासमा कुनै पनि विदेशी भाषाको सिनेमाले उत्कृष्ट सिनेमाको ओस्कार जितेको छैन।
ओस्कारमा 'जोकर' उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो।
यसैगरी 'द आइरिसम्यान', १९१७' तथा 'वान्स अपन अ टाइम इन हलिउड' समान १०-१० विधामा मनोनयनमा परेका थिए।
यसैगरी उत्कृष्ट अभिनेतातर्फ 'जोकर'का जोओकिन फिनिक्सले अवार्ड जितेका छन्। उनले 'म्यारिज स्टोरी'बाट एडम ड्राइभर, 'वान्स अपन अ टाइम'बाट लियोनार्दो डि क्याप्रियो', 'पेन एण्ड ग्लोरी'बाट एन्टोनियो बेन्डरस र 'द टुपोप्स'बाट जोनाथन प्राइसलाई पन्छाउँदै अवार्ड जितेका हुन्।
यसैगरी अभिनेत्रीतर्फ रेने जेलवेगरले बाजी मारेकी छन्। उनले 'जुडी'बाट अवार्ड जितेकी हुन्। यसैगरी हलिउड अभिनेताले जीवनकै पहिलो ओस्कार अवार्ड जितेका छन्। उनले 'वान्स अपन अ टाइम इन हलिउड' सिनेमाबाट सह-अभिनेतातर्फको अवार्ड जितेका हुन्।