अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सिनेमालाई उत्कृष्ट सिनेमाको ओस्कार प्रदान गरिएकोमा असन्तुष्टी व्यक्त गरेका छन्।
'यो वर्षको एकेडेमी अवार्डस्लाई हेर्नुस् त कति खराब थिए? विजेता को थियो भन्दा...कोरियाको एउटा सिनेमा', कोलोराडोमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, 'त्यो केका लागि थियो? दक्षिण कोरियासँग हाम्रा व्यापारसम्बन्धी प्रशस्तै समस्याहरू छन्। त्यहीमाथि उनीहरूले तिनीहरूलाई उत्कृष्ट सिनेमाको उपाधि दिए।'
यस वर्ष दक्षिण कोरियाली सिनेमा 'प्यारासाइट'ले ओस्कारमा सर्वोत्कृष्ट सिनेमा जित्ने पहिलो विदेशी भाषाका सिनेमा बनेको थियो।
ट्रम्प 'प्यारासाइट'को यो उपलब्धीसँग प्रभावित देखिएनन्। बरू उनको रूचि ७० वर्ष अगाडि अमेरिकी सिनेमामा देखियो ।
'म 'गन विथ द विन्ड' जस्ता सिनेमा कोजीरहेको छु। कृपया के हामी त्यस्ता सिनेमा फेरी हेर्न पाउँछौं। 'सनसेट ब्लुभार्ड र अन्य थुप्रै', उनले अगाडी भन्दै गए।
सम्बोधनमा ट्र्मले आफूलाई 'प्यारासाइट' राम्रो भए नभएको थाहा नभएको बताए।
'मैले सोचे त्यो उत्कृष्ट विदेशी फिल्म होला, उत्कृष्ट विदेशी फिल्म... होइन, त्यो त उत्कृष्ट नै रहेछ। के यस्तो पहिला पनि भएको थियो?', उनले सम्बोधनमा जिज्ञासा राखे।
सिनेमालाई अमेरिकामा वितरण गर्न अधिकार लिएको नियोनले ट्वीटरमा नै ट्रम्पको आलोचनाको जवाफ फर्काएको छ।
'बुझ्न सकिन्छ, उनी पढ्न जान्दैनन्', कम्पनीले लेखेको छ।
त्यसैगरी उनी ब्राड पिटको पनि फ्यान देखिएनन्।
'म उसको कहिले पनि ठूलो प्रशंसक रहिन', ट्रम्पले भने, 'ऊ उठ्यो, थोरै मात्र सानो बुद्धिमान केटाको जस्तो कुरा गर्यो। सानो बुद्धिमान केटो, ऊ थोरै बुद्धिमान् केटा हो।'
ओस्कारमा उत्कृष्ट सहायक अभिनयको पुरुषतर्फको ओस्कार जितेका ब्राड पिटले आफ्नो धन्यवाद सम्बोधनमा सिनेटर जोन बोल्टनलाई दिइएको समयप्रति इंगित गर्दै ठट्टा गरेका थिए।
'उनीहरूले मलाई ४५ सेकेन्ड मात्र छ भनेका छन्, जुन जोन बोल्टनलाई यसै साता सिनेटले दिएको ४५ सेकेन्डभन्दा बढी हो', पिटले भनेका थिए, 'म सोच्दैछु क्वीन्टिनले यसबारेमा एउटा सिनेमा गर्लान। अन्त्यमा ठूला मानिसहरूले राम्रो काम नै गर्छन्।'