ऊ उभिएकी छे,
सडकपारि
चुपचाप
केही त छ उसमा
तर थाहा छैन
बुझ्ने कोशिस गर्दैछु
उसलाई
चुम्ने कोशिस गर्दैछु....
नेपाली युवा दिवेश पोखरेलले 'अमेरिकन आइडल'मा आइतबार गाएको गीतको सार हो यो।
'किस द गर्ल' बोलको यो गीत एनिमेटेड फिल्म 'द लिटल मर्मेड'को हो। एलान मेनकनका शब्द, होवार्ड एस म्यानको संगीत र स्यामुअल ई. राइटको स्वरमा यो गीत सर्वप्रथम सन् १९८९ मा रिलिज भएको थियो। पछि फिल्म 'रिमेक' हुँदै आउँदा यसलाई विभिन्न गायकले गाए। यही गीतले उनलाई अमेरिकन आइडलको 'टप-७' मा पनि पुर्याएको छ।
२१ वर्षीय दिवेश कार्यक्रममा 'अर्थर गन' नामबाट प्रतिस्पर्धा गरिरहेका छन्।
गायन प्रतियोगिता कार्यक्रम 'अमेरिकन आइडल' संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।
यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडल दिवेशको सहभागितासँगै नेपालीहरूका लागि खास बनेको छ। कोरोना भाइरसको त्रासमाझ जारी कार्यक्रममा घरबाटै भिडिओ अडिसन गरिएको छ।
दिवेश अमेरिकन आइडलमा सुरूदेखि नै चर्चामा थिए। स्टेजमा नमस्कार गर्दै पुगेका उनले जजहरूको ध्यान खिच्न सफल भएका थिए। क्रमशः उनको गायनमा पनि निकै सुधार देखिएको छ।
आइतबारसम्म अडिसनमा आइपुग्दा उनको आत्मविश्वास निकै बढेको देखिन्थ्यो।
जज क्याटी पेरीले समेत उनलाई 'तिमी रिल्याक्स देखिएका छौ। तिमीले जसरी गायौ, मलाई एकदमै मनपर्यो।'
अर्का जज ल्युक ब्रायनले पनि उनको बदलिएको व्यक्तित्वको प्रशंसा गरे।
लियोनल रिचीले त झन् उनले 'तिमीले जे बोले पनि त्यसमा अर्थर गनको छाप लाग्नेछ' भन्दै खुबै तारिफ गरे।
'तिम्रो आफ्नै पहिचान छ। आफ्नै शैली छ जसले तिमीलाई चिनाएको छ। तिमी एकदमै राम्रो गरिरहेका छौ,' रिचीले भने, 'मलाई तिमीमाथि गर्व छ।'
दिवेश करिब पाँच वर्षअघि अध्ययन सिलसिलामा अमेरिका पुगेका हुन् जो हाल कान्सास, विचिटामा बस्छन्। अमेरिकन आइडलको आँगनमा पाएको स्वागत र प्रशंसाले आफू निकै उत्साही भएको उनले बताएका छन्।
दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ।