अमेरिका बस्ने नेपाली युवा दिवेश पोखरेलले आइतबार इतिहास रचे। 'अमेरिकन आइडल' को १८ औं संस्करणमा अर्थर गन नामले सहभागी दिवेशले प्रतियोगितामा दोस्रो स्थान हात पारे।
२२ वर्षीय दिवेशले पाएको यो स्थानले धेरै नेपालीलाई खुसी दिएको छ। साथै दिवेशले संसारभर आफ्ना धेरै प्रशंसक कमाएका छन्। अमेरिकन आइडलमा यहाँसम्मको सफलता पाउने पहिलो नेपाली दिवेश नै हुन्।
विशेषगरी 'कन्ट्री' गीत गाउने दिवेशले कार्यक्रममा जजहरूको पनि निकै प्रशंसा बटुले। अडिसन चरणदेखि नै उनले जजहरूबाट पनि राम्रा टिप्पणी पाएका थिए। नेपाललाई उनले अमेरिकन आइडलको मञ्चमा चिनाए पनि। फाइनलका लागि गीत गाइसकेपछि जज ल्युक ब्रायनले उनलाई भनेका पनि थिए- काठमाडौंमा यस्तै राम्रा गायक भए आगामी सिजनमा स्वागत गर्छौं।
दिवेशले अमेरिकन आइडलको उपविजेतासम्मको यात्रा तय गर्दा धेरै गीत गाए। गायनशैली, गीत छनोट, मिहिनेत र क्रमशः सुधार हुँदै जाने खुबीले उनलाई यहाँसम्म पुर्याएको हो।
अमेरिकन आइडलको अडिसन चरणदेखि उपविजेतासम्मको यात्रामा दिवेशले गाएका केही गीत हामीले यहाँ राखेका छौं।
अडिसनमा दिवेशले 'गर्ल फ्रम नर्थ कन्ट्री' गीतबाट सुरू गरेका थिए। दिइएको एक मिनेटपछि जब उनी रोकिए जज लियोनल रिचीले उनलाई अर्को गीत गाउन प्रस्ताव राखे। उनी नर्भस भएको महशुस गरेर क्याटी पेरीले पनि आँखा खोलेर गाउन सुझाव दिएकी थिइन्।
दिवेशले 'क्रिडेन्स क्लियरवाटर रिभाइभलको 'ह्याभ यू एभर सिन द रेन' गाए। जजहरू शान्त भइ आँखा ठूला पार्दै दंग परेका थिए। उनी अर्को चरणका लागि छानिए।
यसपछि उनले ओटिस रेडिङ र द ब्ल्याक क्रोजको ‘हार्ड टु ह्यान्डल’ गीत गाएका थिए।
यसपछिको एपिसोडमा दिवेशले ब्यान्डसँग गीत गाउने तयारी थियो। उनले गरेको संगीत एरेन्जमेन्ट ब्यान्डले समय अभावका कारण तयार गर्न सकेन।
त्यसैले उनी एउटा गितार लिएर स्टेजमा गाउन गए। उनले पहिले अडिसनमा गाएकै ‘ह्याभ यु एभर सिन द रेन’ गाए। उनको गीत सुनेर जजहरूले उभिएर प्रशंसा गरे।
उत्कृष्ट २० मा पुग्दा दिवेशले बब मार्लीको 'इज दिस लभ' सुनाएका थिए।
उत्कृष्ट १० मा पुगेका बेला उनले क्लासिक गीत गाएका थिए। 'टप-१०' को यात्रामा उनले सन् १९७१ मा सार्वजनिक जोन डेन्भरको 'टेक मी होम, कन्ट्री रोड्स' गाएका थिए।
आजभन्दा झन्डै ५० वर्षअघिको यो गीत बिल ड्यानोफ, ट्याफी निवर्ट र गायक जोन डेन्भरले मिलेर लेखेका हुन्। यो गीत त्यो बेला यति चर्चित भयो, पछि डेन्भरको परिचय नै यसैमा जोडियो।
त्यस्तै, उनले 'उत्कृष्ट सात' को प्रतिस्पर्धामा 'किस द गर्ल' गाएका थिए। एलान मेनकनको शब्द, होवार्ड एस म्यानको संगीत र स्यामुअल इ. राइटको गायन रहेको यो गीतले उनलाई अमेरिकन आइडलको 'टप-७' मा पुर्यायो यो गीत एनिमेटेड फिल्म 'द लिटल मर्मेड' को हो जसको पहिलो संस्करण करिब तीस वर्षअगाडि रिलिज भएको थियो।
यो गीत पनि फिल्मसँगै सर्वप्रथम सन् १९८९ मा रिलिज भएको थियो। पछि फिल्म 'रिमेक' हुँदै आउँदा यसलाई विभिन्न गायकले गाए। गीतको सार यस्तो छ-
ऊ उभिएकी छे,
सडकपारि
चुपचाप
केही त छ उसमा
तर थाहा छैन
बुझ्ने कोशिस गर्दैछु
उसलाई
चुम्ने कोशिस गर्दैछु....
दिवेशले उत्कृष्ट ५ को यात्रामा गेभपिन डिग्रको 'आइ डन्ट वान्ट टु बी' गाएका थिए। फाइनलका लागि उनले पहिले गाएको 'ह्याभ यु एभर सिन द रेन'