विश्वकै चर्चित उपन्यास 'ह्यारी पोर्टर' को फिल्म श्रृंखलामा मुख्य पात्रका रूपमा अभिनय गरेपछि बेलायती अभिनेता डेनियल र्याक्लिफको जीवन सधैंका लागि परिवर्तन भयो।
२००१ मा 'ह्यारी पोर्टर'को पहिलो श्रृंखला रिलिज भयो, जुन त्यो बेलासम्म सबभन्दा धेरै कमाइ गर्ने चलचित्र बन्न सफल भएको थियो। पछिका पाँच श्रृंखलाले पनि उसैगरी ऐतिहासिक छाप बनायो। फिल्मसँगै ह्यारी अर्थात् डेनियलको अनुहार विश्वभर चर्चित भयो। आज पनि उनलाई थोरैले उनको वास्तविक नाम चिन्छन् र अधिकांशले गोलो चस्मा लगाउने ह्यारी भनेर।
युवा जादुगर ह्यारी पोर्टर र उनका साथीहरू हर्मोनी ग्रेंजर र रोन वेस्लेको जादुयी विद्यालयमा आधारित काल्पनिक उपन्यासको मुख्य पात्रका रूपमा अभिनय गरेको दिन अभिनेता डेनियलको जिन्दगीले नयाँ फड्को मार्यो। तर, एउटा समय थियो जहाँ उनी अभिनय छोड्न एक कदम मात्रपछि थिए।
फिल्मको कास्टिंग निर्देशक जेनेट हिर्शेसनले एकपटक आफ्ना तीन चर्चित सहकलाकार डेनियल, एम्मा वाटसन र रुपर्ट ग्रिन्ट कसरी कास्ट भएका थिए भन्ने बारे बताएकी थिइन्। त्यही क्रममा उनले डेनियल ह्यारी बन्नु पछाडिको कथा पनि खुलाएकी हुन्।
२०१५ मा अमेरिकी अखबार हफिंग्टन पोस्टलाई दिएको एक अन्तर्वातामा जेनेटले त्यस समय मुख्य कलाकार छान्न निकै गाह्रो भएको बताएकी थिइन्। ह्यारी पोर्टर किताबकी लेखिका जे.के रोलिङको माग कलाकारहरू बेलायती नै हुनुपर्ने थियो। यस बाहेक ह्यारी पात्रका लागि कलाकार एउटा विशेष उमेरको र उसको आँखा हरियो वा निलो हुनु आवश्यक थियो।
जेनेट भन्छिन्, 'ह्यारीको अडिसन जटिल बनाउन हामीले कलाकारको आँखा निलो वा हरियो नै हुनुपर्ने नियम राखेको थियौं। कति खैरो आँखा भएकै कारणले छानिएनन् तर जब हामीले डेनियललाई देख्यौं उही नै लायक हुने अनुमान गरेका थियौं।'
फिल्मका निर्देशक क्रिस कोलम्बसले डेनियललाई बेलायती टिभी श्रृंखला 'डेभिड कपरफिल्ड'मा अभिनय गरेको एक भिडिओमा देखेका थिए। त्यही समय उनले डेनियललाई ह्यारी पोर्टर बनाउने सोचेका थिए। तर त्यस बेलासम्म डेनियलको अभिनयमा चासो हराउँदै गएको थियो।
उनी अडिसनमा आउनै मानेका थिएनन्।
निर्देशक क्रिस कोलम्बस र निर्माता डेभिड हेमान दुवै दस वर्षीय डेनियलको अभिनयबाट प्रभावित भइसकेका थिए। त्यसैले निर्माता डेभिड आफैं डेनियलका बुबालाई भेट्न गएर अडिसनमा आउन भने। बुवालाई नै मनाएछि बल्ल डेनियलले अडिसन गर्न माने।
'अन्य दुई प्रमुख पात्र हर्मोनी र रोनको कलाकार छान्न धेरै गाह्रो भएन। पहिले झलकमा एम्मा वाटसनको व्यक्तित्व देख्ने बित्तिकै उनलाई छान्ने निर्णय गरेका थियौं र रुपर्टको लागि उनको अनुहार मुख्य कारण बन्यो,' जेनेटले भनिन्, 'ह्यारी मात्र एउटा जटिल पात्र बनिरहेको थियो। यो पात्र हेर्दा राम्रो देखिने मात्र नभएर पछि एउटा शक्तिशाली बालक बन्ने थियो र यसका लागि डेनियल उत्तम थियो।'
उनका अनुसार यी तीन बाल कलाकारलाई पहिलो पटक भेट गराउँदा माहोल ह्यारी पोर्टरका तीन पात्र झैं बनेको थियो।
'उनीहरू एकआपसमा किताबका बारे गफ गरिरहँदा एम्माको बोल्ने शैली हामीले हर्मोनी पात्रमा खोजेजस्तै थियो,' उनले सम्झिइन्, 'डेनियलको उत्तर दिने तरिका र रुपर्टको अनुहारमा झल्किने निर्दोषता देखेर हामीलाई लागेको थियो, 'ओहो! यिनै हुन् ह्यारी पोर्टर।'
(हिन्दुस्तान टाइम्सको सहयोगमा तयार पारिएको)