समान कामका लागि महिला पुरूष दुबैलाई समान पारिश्रमिक हुनुपर्छ भन्ने माग चल्दै आएको छ। हलिउड र अन्तर्राष्ट्रिय खेलमा यो विषयको बेलाबेलामा चर्चा भइरहन्छ।
हलिउडमा पनि यसको चर्चा चलेको धेरै भइसक्यो। यसमा अभिनेत्रीहरूको आवाज सशक्तरूपमा चलेको नै छ। थुप्रै अभिनेताहरूले पनि यसमा अभिनेत्रीहरूलाई साथ दिएका छन्।
त्यस्तै एक उदाहरणको एक हलिउड अभिनेत्रीले खुलासा गरेकी छन्।
भदौ १२ गते क्यान्सरका कारण निधन भएका 'ब्ल्याक प्यान्थर'का शीर्ष अभिनेता चाडविक बोसम्यानले ती अभिनेत्रीले सम्मानजनक पारिश्रमिक पाउन भनेर आफ्नो पारिश्रमिक कटौती गरेको बताएकी छन्।
अभिनेत्री सियाना मिलरले अभिनेता बोसम्यानलाई सम्झदैं '२१ ब्रिजेज'मा काम गर्दा आफ्नो पारिश्रमिक कटौती गरेको बताइन्।
सिनेमाका लागि सियानाले आफ्नो एउटा पारिश्रमिक तोकेकी थिइन जसलाई दिन निर्माण कम्पनी तयार थिएन। बोसम्यान सो सिनेमाका निर्माता समेत थिए। अन्य निर्माताहरू मागेको पारिश्रमिक दिन तयार नभएपछि सिनेमाबाट आफूले पाउने रकममध्येको केही रकम उनले सियानालाई दिने व्यवस्था मिलाएका थिए।
'उनी मेरो कामको प्रशंसक थिए, जुन मेरा लागि रोचक थियो। उनी मेरो कामबाट प्रभावित थिए', सियानाले भनिन्, 'उनले मलाई कामका लागि प्रस्ताव गरें जबकी लगातार काम गरिरहेकाले म काम गर्ने मनस्थितिमा थिइन। तर उनले प्रस्ताव गरेपछि म काम गर्न तयार भएँ।'
'मलाई यो कथा भन्न हुन्थ्यो या हुँदैनथियो थाहा छैन। तर उनी के थिए भन्नका लागि यो एउटा दस्तावेज हुनेछ। त्यो सिनेमाको बजेट ठूलै थियो र सबैलाई थाहा छ हलिउडमा पारिश्रमिकमा कति असमानता छ। मैले स्टुडियोसँग मलाई दिन नसक्ने रकम मागें। छोरी स्कूल जान सुरू गर्दै थिइन् जसका कारण म काममा जान चाहिरहेको थिइन। मेरो लागि त्यो उपयूक्त समय पनि थिएन। त्यसैले मैले सही पारिश्रमिक पाएमात्र काम गर्छु भने।'
तर बोसम्यानले उनको माग जायज भएको भन्दै आफ्नोतर्फको पारिश्रमिक उनलाई दिए।
'यो मैले भोगेको सबैभन्दा राम्रो अनुभव थियो। यस्तो कुरा भइराख्दैन', उनले भनिन्, 'पुरूषमा यस्तो शालिनता र सम्मानजनक व्यवहारको अपेक्षा त्यो शहरमा गर्न सकिन्न।'