सन् २०१६ मा दक्षिण कोरियाको वाइजी इन्टरटेनमेन्टले 'गर्ल ब्यान्ड' को पोस्टर सार्वजनिक गरेको थियो। चार जना युवतीसहितको सो ब्यान्डको नाम थियो, 'ब्ल्याकपिंक'।
त्यसबेला कोरियनका लागिसमेत नयाँ नाम 'ब्ल्याकपिंक' अहिले विश्वकै चर्चित के–पप ब्यान्ड बनिसकेको छ। ब्यान्डकी मुख्य गायक २१ वर्षीया किम जिसू छोटो समयमै संसारभर चर्चा कमाउन सफल 'ब्ल्याकपिंक' को आकर्षण र चर्चाको केन्द्रमा छिन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार संगीत क्षेत्रमा जिसू नामले चिनिने किम जिसू आफ्नो ब्यान्डका कारण मात्र चर्चित छैनन्। उनी चर्चित फ्रान्सेली ब्रान्ड डिवरका लागि काम गर्ने कोरियन मोडल पनि हुन्। चाँडै नै उनी कोरियन ड्रामामा मूख्य भूमिकामा डेब्यू गर्ने तयारीमा छिन्।
दक्षिण कोरियाको राजधानी सोलमा हुर्किएकी जिसूले सानैदेखि गायिका र अभिनेत्री बन्ने सपना बुनेकी थिइन्। उनको सपनालाई पूरा गरिदिन जिसूका बुबाले उनलाई ‘स्कुल अफ पफर्मिङ आर्ट्स’ मा भर्ना गरिदिए।
केही वर्षभित्रै आफ्नो प्रतिभा र सौन्दर्यका कारण उनले के-पप म्युजिक भिडिओमा खेल्ने मौका पाइन्। त्यसपछि उनी एलजी, निकोन र सामसोनाइट जस्ता ठूला ब्रान्डका विज्ञापनमा देखिन थालिन्।
सन् २०१५ मा उनी कोरियन ड्रामा 'द प्रोड्युसर' मा छोटो भूमिकामा देखिएकी थिइन्। उनले चर्चित के-पप गायक आइयू, सानदारा पार्क र के-पप ब्वाइब्यान्ड 'विनर' का गायक काङ सियूङ यूनसँग अभिनय गरेकी थिइन्।
'ब्ल्याकपिंक' पछि भने जिसू धेरैको ध्यानमा पर्न थालिन्।
सन् २०१९, डिसेम्बरमा उनी ‘डिवर ब्यूटी’को ब्रान्ड एम्बेस्डर भएकी हुन्। त्यसको छोटो समयमै उनी सो ब्रान्डको चर्चित कोरियाली मोडल बनिन्। अर्को चर्चित फ्रान्सेली कम्पनी ‘कार्सियर’ ले पनि आफ्नो ‘पासा डि कार्सियर’ नामक पर्फ्यूम प्रोजेक्टका लागि जिसूलाई नै चुनेको थियो।
हाल उनको वार्षिक कमाइ ९० लाख अमेरिकी डलर छ। विश्वका ठूला ब्रान्डका लागि काम गरेकी जिसू आफैं पनि डिजाइनर सामान प्रयोग गर्न रूचाउने साउथ चाइना मर्निङ पोस्टले बताएको छ।
उनीसँग डिवर, कार्सियर, प्राडा र बुर्बेरी जस्ता ठूला ब्रान्डका झोलाको लोभलाग्दो संकलन छ। उनका यी सबै झोलाहरूको मूल्य ८८ हजार अमेरिकी डलर पर्छ।
मेकअपप्रति पनि जिसूको उत्तिकै लगाव छ। केही महिनाअघि 'ब्ल्याकपिंक' को एकल प्रि-रिलिज गीत ‘हाउ यु लाइक ड्याट’ को टिजर भिडिओ सार्वजनिक भएको थियो। जिसू मात्र देखिने १२ सेकेन्डको भिडिओमा केवल देख्न सकिन्छ। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडिओ भाइरल हुनुको कारण थियो, जिसूको मेकअप। आँखाको तलमाथि नै सेतो थोप्लो डिजाइनको मेकअपमा देखिएकी थिइन् जिसू। र त्यो मेकअप आइडिया पनि उनकै थियो।
उनको मेकअपले दक्षिण कोरिया, चीन, थाइल्याण्ड र भियतनामका सेलेब्रेटीबीच ठूलै चर्चा पायो। उनको मेकअपबाट प्रभावित भएर इन्स्टाग्राममा 'जिसू-मेकअप' भनेर ह्यासट्याग नै चलेको थियो।
यसरी २०२० को पहिलो पाँच महिनामा कस्मेटिक संसार अगाडि बढाउने संसारकै शीर्ष दस सेलेब्रेटीको सूचीमा जिसू सातौं स्थानमा पर्न सफल भएकी थिइन्। यो सूचीमा गायक रिहाना र काइली जेनर पनि समावेश थिए।
‘ब्ल्याकपिंक’ को सफलता र आफ्नै नामको विश्वव्यापी चर्चासँगै जिसूको कमाइ अझै बढ्ने देखिन्छ। सधैं नयाँ रुपरङ र कामले चर्चामा आउने जिसूको नयाँ परिवर्तन हेर्न उनका प्रशंसकहरू पर्खाइमा छन्।