सामाजिक सञ्जालमा ठूला सेलेब्रेटीका फोटोमा कमेन्ट गर्दा वा आफ्नो फोटोमा उनीहरुलाई ट्याग गर्दा लाइक मात्रै पाए त्यो ठूलो कुरा हुन्छ। तर, कमेन्ट र ट्याग गरेकै कारण सेलेब्रेटीसँग रमाइलो डेटमा जान पाएको कुरा सुन्नुभएको छ?
अमेरिकी युवती इलब्लाकी यो विषयमा भाग्यमानी भएकी छिन्।
अमेरिकी फेसन म्यागेजिन कस्मोपोलिटन अनुसार, इलब्लाकी नाम गरेकी टिकटक प्रयोगकर्ताले चर्चित हलिउड गायिका तथा अभिनेत्री माइली साइरससँग डेट जाने अवसार पाएकी हुन्। यो अवसर उनले माइली साइरसलाई आफ्नो टिकटक भिडियोमा ट्याग गरेकै भरमा पाएकी हुन्।
ती युवतीले माइली साइरसको ‘प्लास्टिक हर्ट’ गीतमा नाचेको टिकटक भिडिओ बनाएर उनलाई ट्याग गरेकी थिइन्। भिडियोको तल क्याप्सनमा 'माइली साइरसले आफ्नो भिडिओमा कमेन्ट गरे उनले भनेकै ट्याटु' बनाउने लेखेकी थिइन्।
माइलीले ती युवतीको भिडियोमा कमेन्ट त गरिन्, तर कुनै ट्याटु बनाउन नभनेर डेटमा जाने प्रस्ताव राखिन्। उनले समय र स्थान दिए आफू डेटका लागि आउने बताएको कस्मोपोलिटनले जनाएको छ।
माइलीले इलब्लाकी बाहेक आफूलाई ट्याग गरिएका अरु थुप्रै टिकटक भिडियोमा पनि कमेन्ट गरिरहेकी छिन्। हालै टिकटक प्रयोगकर्ताबीच यी चर्चित गायिकाले आफ्ना भिडिओमा कमेन्ट गरिन् भनेजस्तो काम पनि गर्ने भनेर ट्रेन्ड सुरु भएको हो। माइली पनि यसमा उत्तिकै रमाइरहेकी छिन्।
माइलीले लकडाउनका बेला सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानसँग जोडिन पाउँदा उनी निकै खुसी भएको व्यक्त गरेकी थिइन्।
एक हप्ताअघि एक जोडीले पनि उसैगरी टिकटक भिडिओ बनाएका थिए। उनीहरुले पनि यदि माइली साइरसले आफ्नो भिडिओमा कमेन्ट गरिन् भने बिहे गर्ने बताएका थिए।
नभन्दै माइलीले ती जोडीको भिडियोमा कमेन्ट गरिन् र उनीहरुलाई बधाइ पनि दिएकी थिइन्।