चर्चित अमेरिकी पप गायिका टेलर स्वीफ्टले नयाँ एल्बम सार्वजनिक गरेकी छिन्। टाइम्स अफ इन्डियाका अनुसार, टेलर स्वीफ्टले ‘एभरमोर’ नामक नयाँ एल्बम सार्वजनिक गरेकी हुन्। यो उनको ९ औं स्टुडियो एल्बम हो।
‘एभरमोर’ यो वर्ष रिलिज भएको टेलरको दोस्रो एल्बम हो। केही महिनाअघि उनले ‘फोकलोर’ नामको एल्बम सार्वजनिक गरेकी थिइन्। ‘फोकलोर’ एल्बम उनले लकडाउनको समयमा रेकर्ड गरेकी थिइन् जुन ग्रामी अवार्डमा मानोनितसमेत भएको थियो।
‘एभरमोर’ मा १७ वटा नयाँ गीत समावेश छन्। टेलरका अनुसार, यी गीत उनको अघिल्लो एल्बम ‘फोकलोर’ सँग मेल खाने खालका छन्। त्यसैले नयाँ एल्बमलाई उनले ‘फोकलोर’ को बहिनी भनेकी छिन्।
टेलरले आफ्नो पुरानै एल्बमलाई निरन्तरता दिएर नयाँ एल्बम निकालेको यो पहिलो पटक हो। यसो गर्नुको कारण उनले आफ्नो आधिकारिक ट्विटर मार्फत् खुलाएकी छिन्।
‘पहिला एउटा एल्बम सार्वजनिक गरेपछि म अर्को नयाँ एल्बममा काम गर्न सुरु गर्थे। तर फोकलोर रिलिज गरेपछि मलाई नयाँ काम सुरू गर्न मन लागेन। बरु त्यसैमा अझै काम गर्न मन लाग्यो,’ टेलर स्वीफ्टले ट्विटरमा लेखेकी छिन्, ‘सामान्य रूपमा भन्नु पर्दा हामीले गीतको लेखन रोक्न सकेनौं। हामीलाई फ्लोकलोरियन जंगलको गहिराइमा डुबिरहेझैं महसुस भइरहेको थियो।’
टेलरले थपेकी छिन्, ‘फोकलोर अन्य एल्बमभन्दा केही फरक थियो। यो एल्बम बनाउँदा म आफूभित्रै हराइरहेको अनुभूति भएको थियो। त्यसैले मैले यसलाई निरन्तरता दिएकी हुँ।’
फोकलोरमा जसरी टेलर नयाँ एल्बम ‘एभरमोर’ मा पनि इन्डी कलाकारसँग काम गरेकी छिन्।
टेलरले एक्कासि यो नयाँ एल्बम सार्वजनिक गरेका कारण उनका फ्यानहरूका लागि ‘सर्प्राइज’ भएको छ।