अंग्रेजी वर्ष २०२० सकिन लाग्दा गुगलले यस वर्ष अनलाइनमा धेरै खोजिएका फिल्मका सूचीहरु धमाधम सार्वजनिक गरिरहको छ। विश्वभरका गुगल प्रयोगकर्ताले धेरै खोजी गरेका फिल्मको सूचीमा हलिउडदेखि र एसियन फिल्मसम्म अटाएका छन्।
द इन्डियन एक्सप्रेसका अनुसार कोरियन फिल्म ‘प्यारासाइट’ र अमेरिकी फिल्म ‘ब्ल्याक प्यान्थर’ यस वर्ष गुगलमा धेरै खोजिएका फिल्ममध्ये परेका छन्। गुगलले सार्वजनिक गरेका दश फिल्मका नाम र विशेषता यस प्रकार छन्-
१. प्यारासाइट
कोरियन फिल्म 'प्यारासाइट' यस वर्षको ओस्कार विजेता फिल्म हो। यो फिल्म डार्क कमेडी थ्रिलर विधामा पर्छ। फिल्ममा वर्ग विभेदको सशक्त चित्रण पाइन्छ।
प्यारासाइटको कथा दक्षिण कोरियाको सिओलमा बस्ने एक किम परिवार बाट सुरु हुन्छ। जहाँ चार जना सदस्य हुन्छन्। यो परिवार आर्थिक संकटबाट गुज्रिरहेको हुन्छ जसको कारण दुइ छोराछोरीको पढाइ पनि रोकिएको हुन्छ। अनेक जुक्ति लगाएर किम परिवारका सबै सदस्य कोरियाकै धनी परिवारमा पर्ने पार्क परिवारको लागि काम गर्न थाल्छन्।
यी दुई परिवारका सदस्यको परिस्थितिलाई एकै ठाउँमा जोडेर यस फिल्मका निर्देशक बोङले समग्र दक्षिण कोरियाकै धनी र गरिब बिचको खाडल र त्यसबाट उब्जिएका समस्या प्रस्तुत गरेका छन्। फिल्मले कान, ओस्कार, गोल्डेन ग्लोब, बाफ्टालगायत थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो।
२. १९१७
'१९१७' बेलायतमा भएको पहिलो विश्वयुद्धमा आधारित फिल्म हो। सन् २०१९ मा रिलिज भएको यो फिल्मले सो युद्धमा खटिएका सिपाहीहरुका लडाइको दौरान भोग्नु परेको कथालाई चत्रिण गरेको छ।
१९१७ ले गोल्डेन ग्लोब अवार्ड, बाफ्टा अवार्ड, पिजिए अवार्ड तथा अन्य ठूला अवार्ड हात परेको थियो।
३. ब्ल्याक प्यान्थर
२०१८ मा रिलिज भएको अमेरिकी फिल्म ब्ल्याक प्यान्थर यस वर्ष गुगलमा धेरै खोजी भएको फिल्ममा परेको छ।
मार्भलको कमिक पात्रमा आधारित बनेको यो फिल्मको मुख्य रोल अमेरिकी अभिनेता चाडविक बोसम्यानले खेलेका थिए।
गत अगस्टमा उनको मृत्यु क्यान्सरको कारण भएको थियो। जस लगतै फ्यानहरुले उनको फिल्म दोहोर्एर खोजेका हुन्।
४. ३६५ डेज
'३६५ डेज' पोलिस इरोटिक रोमान्टिक ड्रामा फिल्म हो। यही वर्ष अनलाइनमा रिलिज भएको यस फिल्म ब्लान्का लिपिस्काको पहिलो उपन्यासमा आधारित रहेको छ।
फिल्ममा एक जना युवतीले अपहरण गरेर आफूलाई मायामा पार्न तीन सय ३६५ दिनको समय दिएकी हुन्छिन्। फिल्ममा देखाइएको यौन हिंसाको कारण फिल्मको आलोचना पनि भएको थियो।
५. कन्टेजन
'कन्टेजन' सन् २०११ मा रिलिज भएको अमेरिकी थ्रिलर फिल्म हो। फिल्मको कथा विशेष गरी एक भाइरस वरिपरि घुमेको छ। फिल्ममा चिकित्सा अनुसन्धानकर्ताहरु र जनस्वास्थ्य अधिकारीहरु भाइरसले फैलाएको रोग पत्ता लगाउन प्रयास गर्छन्।
महामारीमा सामाजिक व्यवस्थाको क्षति र त्यसको नियन्त्रणको लागि खोप बनाउने कोशिसको कथा कन्टाजिओनमा समावेश गरिएको छ। हाल भइरहेको कोरोना महामारीको अवस्था सँग मिल्दोजुल्दो भएको कारण दर्शकहरुले फेरी यस फिल्म खोजेर हेरिरहेका हुन्।
६. टेनेट
चर्चित अमेरिकी निर्देशक क्रिस्टोफर नोलानको नयाँ फिल्म हो टेनेट। आफ्ना पुराना फिल्महरुका कारण ख्याती कमाएका नोलानको नयाँ फिल्मको लागि पनि दर्शकहरु धेरै उत्सुक थिए।
टेनेटको चर्चा रिलिज हुनु भन्दा एक वर्ष अगाडि देखि नै निकै चर्चामा आएको थियो। यो साइन्स फिक्सन तथा एक्सन थ्रिलर फिल्म हो।
यस फिल्मको कथा एक जासुसको वरिपरि बनेको छ, जसले तेस्रो विश्व युद्ध रोक्नको लागि समय प्रवाहलाई नै परिवर्तन गर्छन्।
७. इनोला होल्मस
इनोला होल्मस यही वर्ष रिलिज भएको मिस्ट्री फिल्म हो। चर्चित अमेरिकी जासुस शर्लक होल्मसको कान्छी बहिनीको रुपमा प्रस्तुत गरिएको इनोला होल्मसको कथा बारे यस फिल्म आधारित छ।
फिल्ममा सानी इलोना होल्मस आफ्नी हराएकी आमालाई खोज्न एक्लै लन्डन पुगेकी हुन्छन्। त्यहाँ उनले भोग्नु परेको दुख र उनको साहसीलाई फिल्ममा प्रस्तुत गरिएको छ।
८. बर्डस अफ प्रे
चर्चित् अमेरिकी अभिनेत्रीे मार्गोट रोबीको मुख्य भुमिका रहेको ‘बर्डस अफ प्रे’ सुपरहिरो फिल्म हो। फिल्ममा हार्ले क्वीन नामक पात्रको रुपमा देखिएकी मार्गोट आफ्नो प्रेमी जोकरसँग भएको बे्रकअप पछि एक्लै बचाउन निस्किन्छिन्। जहाँ उनको भेट कमिकका अन्य पात्रहरु सँग हुन्छ।
९. मुलान
१९९८ मा रिलिज भएको एनिमेटेड डिज्नी कार्टुन मुलानको कथामा आधारित यस नयाँ फिल्म बनेको हो। फिल्ममा मुलान नामक एक महिला पात्र आफ्नो बुढा बुबाको ठाउँ सम्हाल्न केटाजस्तै बनेर युद्ध लड्न जान्छिन् र त्यहीँबाट उनको कथा सुरु हुन्छ।
१०. जोजो र्याबिट
जोजो र्याबिट सन् २०१९ मा रिलिज भएको कमेडी ड्रामा फिल्म हो। यस फिल्म हिटलरले जर्मनीमा राज्य गरिरहेको समयतिर आधार बनाइएको छ। जहाँ जोजो नामक एक सानो बालक हिल्टर युथका एक सदस्य हुन्छन्।
जब जोजोले आफ्नी आमाले जुइस धर्म मान्ने एक सानी बालिकालाई लुकाएर राखेको थाहा पाउछन् अनि मात्र फिल्मको कथाले रुप लिन्छ।
यो फिल्म ७७ औं गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको थियो। यस फिल्मले ७३ औं ब्रिटिस एकेडेमी फिल्म अवार्ड जित्न पनि सफल भएको थियो।