'आइ एम आइरन म्यान' यो वाक्य हलिउडका सुपरहिरो फिल्म हेर्ने दर्शक माझ निकै प्रचलित छ। सन् २००८ मा रिलिज भएको सुपरहिरो कमिक फिल्म ‘आइरन म्यान’मा मुख्य पात्रका रूपमा अभिनय गरेका अभिनेता रोबर्ट डाउनी जुनियरको चर्चित डाइलग हो यो।
यो डाइलग आज पनि हरेक सपुरहिरोका प्रशंसकबीच सुनिन्छ। ‘आइरन म्यान’ प्रतिको मोह बालबालिका देखि युवापुस्ता सम्म बढिरहेको छ, र यसको सबै श्रेय अभिनेता रोबर्टलाई नै दिइन्छ।
५५ वर्षीय रोबर्टले अभिनय गर्न थालेको पाँच दशक भइसकेको छ। उनी पाँच वर्षका छँदै आफ्नै बुवाको फिल्म 'पाउन्ड' बाट हलिउड प्रवेश गरेका हुन्।
'च्याप्लिन', 'शेरलक होम्स' जस्ता फिल्मबाट चर्चा कमाए पनि उनी अचेल आइरन म्यानकै रूपमा चिनिन्छन्। आफूले अभिनय गरेको पात्रलाई विश्वभरका दर्शकले मन पराउनु भनेको एक कलाकारका लागि ठूलो सफलता मानिन्छ।
हालै रोबर्टसँग हिन्दुस्तान टाइम्सले लिएको एक अन्तर्वार्तामा उनले आइरन म्यान बन्न निकै गाह्रो भएको बताएका छन्।
‘आइरन म्यान खेल्न मलाई निकै गाह्रो भएको थियो। त्यसका लागि मैले धेरै नै मिहिनेत पनि गरेँ,’ उनले भनेका छन्, ‘तर दस वर्ष आइरन म्यानका रूपमा अभिनय गर्न पाउँदा म सन्तुष्ट छु।’
हाल उनी आफ्नो टेक्नोलोजी कम्पनी ‘फुटप्रिन्ट कोलिसन’ अन्तर्गत काम गरिरहेका छन्। उनले ‘द एज अफ ए.आइ.’ नामक युट्युब च्यानल पनि खोलेका छन्। जसमा उनी आफैंले विज्ञानबारे जानकारी दिन्छन्।
आइरन म्यान फिल्म प्रविधिमै आधारित भएकाले पनि रोबर्ट अझै आफ्नो पात्रबाट बाहिर आउन नसकेको उनका फ्यानहरूले अनुमान लगाएका छन्।
जसको जवाफमा रोबर्टले भनेका छन्, ‘टोनी (आइरन म्यान) का रूपमा अभिनय गर्दा मैले विश्व, मौसम, प्रविधि विषयमा धेरै ज्ञान पाएँ। टोनी भएर कयौं अनुभव पनि बटुलिसकेको छु र म त्यसको लागि आभारी छु। तर, वास्तविक जीवनमा म टोनी होइन।’
उनले थपेका छन्, ‘कामको दौरान सिकेका ती ज्ञान सदुपयोग गरेर मलाई अघि बढ्नु छ। तर एक अभिनेताको रुपमा हरेक पटक स्क्रिप्ट पाउँदा म प्रतिबद्धताका साथ काम गर्छु।’