चर्चित हलिउड अभिनेता टम क्रूज हाल सामाजिक सञ्जालमा ट्रेन्डिङमा छन्। उनी आफ्नो 'क्रु मेम्बर' लाई कामबाट निकाल्ने धम्की दिएका कारण ट्रेन्डिङमा परेका हुन्।
हिन्दुस्तान टाइम्स अनुसार, ‘मिसन इम्पोसिबल ७’ का 'क्रु मेम्बर' ले कोभिडको नियम पालना नगरेको कारण टमले कामबाट निकाल्ने धम्की दिएका हुन्। उनले धम्की दिएको अडियो सार्वजनिक भएको समाचारमा जनाइएको छ।
टम फिल्मका अभिनेतासँगै निर्माता पनि हुन्। हाल ‘मिसन इम्पोसिबल ७’ को बेलायतमा सुटिङ भइरहेको छ।
खबर अनुसार, छायांकनका क्रममा फिल्मका दुई सदस्य एकआपससँग नजिक बसेका थिए। सुटिङमा भौतिक दुरी कायम नगरेकै कारण टम रिसले आगो भएको हिन्दुस्तान टाइम्सले बताएको छ।
टम रिसाएको अडियो समेत सार्वजनिक भएको छ। सार्वजनिक अडियो दुई मिनेट लामो छ जसमा टमले ती दुई सदस्यलाई मुख छाडेर गाली गरेको सुनिन्छ।
‘फिल्म क्रुका सबै सदस्य हामीलाई विश्वास गरेर यस्तो समयमा पनि सुटिङमा आइरहेका छन्। यो क्षेत्र बन्द भएकै कारण कतिले आफ्नो घरबार गुमाउनु परेको छ र कति भोकभोकै भएका छन्,' उनले भनेका छन्, 'हरेक रात म ती कर्मचारी र फिल्म क्षेत्रको भविष्यको तनाव लिएर सुत्छु।
तर, कामको बेला कसैले सामान्य नियम पनि पालना नगर्दा मलाई स्वीकार्य हुँदैन। अब फेरि पनि यस्तो देख्न परे म सिधै कामबाट निकाल्छु।’
छायांकनमा करिब पचास जना सदस्य थिए र उनीहरु सबै टमको रिस देखेर छक्क परेका थिए।
‘मिसन इम्पोसिबल ७’ को सुटिङ कोराना महामारीका कारण बिचमै रोकिएको थियो। सरकारले बिस्तारै प्रतिबन्ध खुकुलो गरेपछि फिल्मको सुटिङ पुन: सुरु भएको हो।
केही समयअघि यो फिल्मको सुटिङ इटालीमा भएको थियो। त्यसबेला फिल्मका १२ जना सदस्यलाई कोरोना संक्रमण भएको थियो र छायांकन बीचमै बन्द गर्नु परेको थियो।
‘मिसन इम्पोसिबल ७’ क्रिस्टोफर म्याकवेयरले निर्देशक गरेका हुन्। यो फिल्म २०२१ नोभेम्बर १९ मा सार्वजनिक हुने जनाइएको छ।