सामाजिक सञ्जालमा सक्रिय अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा राजनीतिक कुरा मात्रै सेयर गर्दैनन्। उनका पोस्टहरूमा सामाजिक विषयसँगै कला-साहित्यका कुरा पनि पाइन्छन्।
उनले सेयर गर्ने विषयवस्तुमा राजनीतिक कुरा मात्र नभई समाज र कला प्रतिको चासो पनि उत्तिकै झल्किन्छ। सन् २०२० सुरू हुन लाग्दा उनले ट्विटरमा २०१९ मा आफूलाई मनपरेका किताब र गीतको सूची सार्वजनिक गरेका थिए।
द इन्डियन एक्सप्रेसका अनुसार, २०२० बित्न लाग्दा पनि ओबामाले यस वर्ष आफूलाई मन परेका किताब, गीत र फिल्मका सूची ट्विटरमा सेयर गरेका हुन्।
आफूलाई मनपरेका फिल्मको सूची सार्वजनिक गर्दै ओबामाले ट्विटरमा लेखेका छन्, ‘सबैजना जसरी हामी पनि यो वर्ष आफ्नो घरभित्रै अड्कियौं। यही बेला थुप्रै चलचित्र र कार्यक्रम हेर्न मौका पाएकाले यस वर्ष मलाई मन परेका फिल्मको सूची लामो भएको छ।’
उनले आफ्नो सूचीमा फिल्म र टिभी सिरिज गरी दुई भागमा बाँडेका छन्।
यसमा १४ वटा फिल्म र १० वटा टिभी सिरिज परेको छ।
उनले फिल्ममध्ये नेटफ्लिक्सको ‘रेनेज ब्ल्याक बटम’ लाई र्शीष स्थानमा राखेका छन्।
डेभिड फिन्चरको 'मान्क', पिक्सरको एनिमेटेड फिल्म 'सोल' र वृत्तचित्र 'टाइम' पनि उनको मनपर्ने फिल्ममा परेको छ। टिभी सिरिजमा भने ‘बेटर कल सल’ उनलाई धेरै मन पर्ने बताएका छन्।
ओबामाले गत सप्ताहन्तमा दिन बिराएर सूची पोस्ट गरेका हुन्। उनले फिल्मपछि यस वर्षको आफूलाई मन परेका गीतको सूची सेयर गरेका थिए।
उनले रुचाएका तीस गीतको सूचीमा अमेरिकी गायिका मेगन द स्टेलियनको ‘स्याभेज’ आफूलाई सबभन्दा मन परेको उल्लेख गरेका छन्।
ओबामाले सेयर गरेका गीतको तीस वटा गीतको सूचीमा बल डेलनको 'गुडबाइ जिम्मी रिड', दुआ लिपाको 'डेभिटेटिङ', जे कोलको क्लाइम्ब ब्याकलगायत गीत अटाएका छन्।