नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ। वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ।
चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र ,छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छन्। नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्।
वासिङ्गटन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न हुँदै आएको 'डीएमभी क्लोजअप' प्रदर्शनी यस पटक थप प्राथमिकता दिने पनि विज्ञप्तीमा जनाइएको छ। महोत्सवको सुरुआतदेखि नै 'ग्लोबल पिस फिल्म फेस्टिबल' फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरु आगामी वर्ष पनि समावेश हुनेछन्।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ। महोत्सव अवधिभर चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन्। महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि राखिनेछ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था 'नेपाल-अमेरिका फिल्म सोसाइटी' ले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। कोभिड-१९ को महामारीका कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो। यसैबीच उत्तर-अमेरिकाका ७ वटा दक्षिण एसियाली चलचित्र महोत्सवहरुको साझा पहलमा 'कोसाफ' सम्पन्न भएको थियो।
चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । चलचित्र आवेदन सम्बन्धी विवरण तथा नियमहरु संस्थाको वेबसाइटमा उपलब्ध छन्।