चर्चित हलिउड रियालिटी स्टार किम कार्दासियन र र्यापर कान्ये वेस्टले सम्बन्ध विच्छेद खबर चर्चामा छ। केही समय यता यी चर्चित जोडीबीच राम्रो सम्बन्ध नभएको र चाँडै एकअर्कासँग छुटिन सक्ने पिंकभिल्लाले लेखेको छ।
करिब आठ वर्षदेखि सँगै रहेका किम र कान्ये हलिउडको चर्चित जोडीका रुपमा चिनिन्छन्। दुई वर्षको चिनजानपछि यी दुईले सुरु गरेको वैवाहिक जीवन छ वर्ष भइसक्यो। तर, पछिल्लो समय यो जोडीको सम्बन्ध चिसिएको छ।
किम र कान्ये अहिले छुट्टै बसिरहेका छन् र विवाहित जोडीका रुपमा धेरै समय सँगै बिताइरहेका छैनन्।
इ न्यूजका अनुसार, पछिल्लो महिनादेखि किम र कान्ये आफ्ना छोराछोरीका लागि मात्र भेटिरहेका छन्। नर्थ वेस्ट, सेन्ट वेस्ट, चिगागो वेस्ट र स्लाम वेस्ट यी दुईका चार छोराछोरी हुन्।
आमा-बुबाको बिग्रिदो सम्बन्धले गर्दा छोराछोरीमा केही असर नपरोस् भनेर किमले सम्बन्धविच्छेदका लागि फाइल गर्न समय लिइरहेको बताइएको छ।
किम आफ्नो बच्चाहरुका लागि सही निर्णय लिने सोचिरहेकी छिन् भने, कान्ये केवल सम्बन्धविच्छेदको फाइल पर्खिरहेको इ न्यूजको भनाइ छ।
उनीहरु छुट्टीमा पनि सँगै देखिएका थिएनन्। यसपालीको क्रिसमसमा किम आफ्नो परिवारसँग देखिएकी थिइन् र कान्ये वेस्ट वायोमिङ रेन्चमा थिए।
सम्बन्ध विच्छेद गर्ने विषयमा दुवैले अहिलेसम्म कुनै आधिकारिक खुलासा भने गरेका छैनन्।