संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘ग्रामी अवार्ड’ को ६३ औं संस्करण स्थगित भएको छ। सन् २०२१ जनवरी ३१ मा हुने भनिएको अवार्ड समारोह मार्च १४ मा हुने भएको छ। ग्रामी अवार्ड आयोजना गर्ने ‘द रेकर्डिङ एकेडेमी’ले कम्पनीको आधिकारिक ट्विटरमार्फत उक्त घोषणा गरेको हो।
संगीत क्षेत्रको प्रगति र उपलब्धिहरूको पहिचान गर्न प्रत्येक वर्ष ‘ग्रामी अवार्ड’ वितरण हुँदै आएको छ। पहिलो पटक यो सन् १९५९ मा ग्रामोफोन अवार्ड नामले सुरु भएको हो। वर्षेनि अमेरिकामा हुने यो समारोह यसपालि जनवरीदेखि मार्चमा सर्नुको मुख्य कारण कोरोना महामरी रहेको भन्दै 'द रेकर्डिङ एकेडेमी'ले ट्विटमा लेखेको छ।
ट्विटमा लेखिएको छ, ‘स्वास्थ विशेषज्ञ, आयोजक र हाम्रा कलाकारहरूसँग संवादपछि हामी यो निश्कर्षमा पुग्यौं कि ६३ औं ग्रामी अवार्ड समारोह आइतबार, मार्च १४, २०२१ मा आयोजना हुनेछ।’
यस पटकको अवार्ड ८३ वटा क्याटोगोरीमा बाँडिएको छ। सन् २०२१ को ‘ग्रामी अवार्ड’का लागि मनोनित गीत तथा संगीतको सूची सार्वजनिक भइसकेको छ।