बेलायतका राजकुमार ह्यारी र उनका पत्नी मेघन मार्कलले सामाजिक सञ्जालबाट टाढा रहने निर्णय गरेका छन्। सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण राजकुमार ह्यारी र मेघन मार्कलले ट्विटर, इन्स्टाग्राम, फेसबुक बन्द गर्ने निर्णय गरेको टाइम्स अफ लन्डनले बताएको छ।
ह्यारी र मेघन दुवैले इन्स्टाग्राममा ‘सस्सेक्स रोयल’ नामक अकाउन्ट चलाउँथे। सो अकाउन्टमा यी दुईले आफ्नो संस्था 'आर्चवेल फाउन्डेसन'को कामबारे जानकारी लिने काम पनि गर्थे। तर, एक वर्षदेखि सो अकाउन्टमा कुनै पोस्ट गरिएको छैन। यसबाहेक यी दुईको आफ्नै आधिकारिक इन्स्टाग्राम अकाउन्ट पनि थियो।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सस्सेक्स रोयल अकाउन्टमा आफ्नो अन्तिम पोस्ट गरेका थिए। जसमा यी दुई शाही परिवारका वरिष्ठ सदस्यका रुपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए।
अहिले यी दुईले आफ्ना सबै आधिकारिक अकाउन्ट बन्द गरेका छन् र सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने सुरसार देखाएका छैनन्। ह्यारी र मेघनले अनलाइनमा सामना गर्नुपरेको हेला र घृणाको कारण यस्तो निर्णय लिएको कस्मोपोलिटनको भनाइ छ। गत वर्ष अक्टोबरमा एक अन्तर्वार्तामा मेघन मार्कलले आफूले भोगेको साइबर बुलिङको अनुभव बताएकी थिइन्।
‘सन् २०१९ मा म विश्वकै सबैभन्दा बढी ट्रोल गरिएको व्यक्ति म नै थिएँ,’ मेघनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘त्यसपछि आफ्नो बच्चाको लागि म करिब आठ महिना जति गायब भएँ, तर पनि मेरोबारे आउने नराम्रा कुरा रोकिएको थिएन। व्यक्ति पन्ध्र वर्षको होस् वा पच्चीस, यदि कसैले आफ्नोबारे झूठा कुरा गर्छन् भने त्यसले मानसिक र भावनात्मक स्वास्थ्यमा हानी पुर्याउछ।’
एक वर्षअघि राजकुमार ह्यारीले अनलाइन बुलिङका कारण आफ्नो श्रीमतीले भोग्नुपरेको कष्टबारे बोलेका थिए। उनले त्यस्तो गतिविधि अन्त्य गरिदिन आग्रह पनि गरेका थिए।