अमेरिकाका नयाँ राष्ट्रपतिका रुपमा चुनिएका जो बाइडन तथा उपराष्ट्रपति कमला ह्यारिसको स्वागत कार्यक्रममा चर्चित अमेरिका गायिका लेडी गागा र जेनिफर लोपेजले गाउने भएका छन्। यही जनवरी २० मा अमेरिकाको क्यापिटलस्थित वेस्ट फ्रन्टमा हुन लागेको सो कार्यक्रममा लेडी गागा र जेनिफर लोपेजको पनि उपस्थिति हुने द गार्डियनले बताएको छ। कार्यक्रममा राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले सपथ लिने समयमा लेडी गागाले अमेरिकाको 'राष्ट्रिय गान' गाउने छिन्।
उनीसँगै जेनिफर लोपेजले पनि संगीत प्रस्तुति दिने बताइएको छ। कोरोना महामारीको बेला अधिकांश कार्यक्रमहरु अनलाइन भइरहेको बेला राष्ट्रपतिको उद्घाटन कार्यक्रम भने भव्य रुपमा हुन लागेको छ। यसो हुनुको मुख्य कारण हलिउड स्वयं नयाँ राष्ट्रपतिलाई स्वागत गर्न उत्सुक रहेको भनाइ छ।
कार्यक्रममा अमेरिकी रक ब्यान्ड फु फाइटर, गायक जोन लेजेन्ड र ब्रुस स्प्रिंग्सटिनले रिमोर्टले गीत संगीत प्रस्तुत गर्दैछन्। उनीहरुसँगै चर्चित गायक जस्टिन टिम्बरलेक, जोन बोन जोभी, डेमी लोभाटो र एन्ट क्लेमन्सको पनि प्रस्तुति रहनेछ। सोही दिन बाइडनको स्वागतस्वरुप अभिनेता टम ह्यान्क्सले ९० मिनेटको विशेष प्राइमटाइम टिभी होस्ट गर्ने द गार्डियनले जनाएको छ।
गत हप्ता क्यापिटलमा भएको हिंसात्मक घटना र कोरोना महामारीका कारण कार्यक्रममा सिमित व्यक्तिमात्र उपस्थित हुनेछन्। २०१३ मा बाराक ओबामाको दोस्रो शपथ कार्यक्रममा गायिका बियोन्सेले ‘द स्टार–स्प्यान्ग्लड ब्यानर’ गीत गाएकी थिइन्। त्यो बेला कार्यक्रममा जो बाइडेन पनि उपस्थित थिए।
२०१७ मा भएको डोनाल्ड ट्रम्पको शपथ कार्यक्रममा भने १६ वर्षीय ज्याकी इभान्कोले गायकी थिइन्। द गार्डियनका अनुसार, कैयौं चर्चित कलाकारहरुले डोनाल्ड ट्रम्पको शपथ कार्यक्रममा प्रस्तुति दिन अस्वीकार गरेका थिए।