हलिउड अभिनेता टम होल्याण्ड कमिक पात्र स्पाइडर–म्यानको रूपमा चर्चित छन्। मार्भल सिनेम्याटिक युनिभर्स अन्तर्गतको सपुरहिरो फिल्म स्पाइडर–म्यानमा उनको मुख्य अभिनय छ।
अहिलेसम्म उनले ‘स्पाइडर–म्यानः होमकमिङ’ र ‘स्पाइडर–म्यानः फार फर्म होम’ गरेर आफ्नै दुई एकल फिल्म खेलिसकेका छन्। त्यसबाहेक उनले ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ र ‘एभेन्जरः इन्डगेम’मा पनि अभिनय गरेका थिए। तर, यस्तो समय पनि थियो जब टम होल्याण्डलाई आफू स्पाइडर–म्यानको रोलबाट हट्न सक्ने डर थियो।
हिन्दुस्तान टाइम्सका अनुसार ‘क्याप्टेन अमेरिकाः सिभिल वार’मा पहिलो पटक स्पाइडर–म्यानको रूपमा अभिनय गरेपछि मार्भल सिनेम्याटिक युनिभर्सले उनलाई आफ्नो रोलबाट हटाउँछन् की भन्ने थियो।
अमेरिकी अखबार भेराइटीसँगको एक अन्तर्वार्ताअनुसार पहिलो फिल्म खेलेपछि मार्भलले उनलाई फेरि भविष्यमा अभिनय गराउने बारे केही जानकारी दिएकाे थिएन। जसले गर्दा स्पाइडर–म्यानको भुमिकाबाट हटाइएको होकी भन्ने चिन्ता परेको टम बताउँछन्।
‘त्यो बेला ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ रिलिज भइसकेको थिएन र त्यस अवधिमा मलाई फिल्ममा काम गर्ने वा नगर्ने विषयमा कसैले पनि जानकारी दिएको थिएन,’ उनी भन्छन्, ‘मलाई हरेक क्षण कामबाट हटाउँछन् भन्ने डर भइरहेको थियो। खै किन हो, आज चारवटा फिल्ममा अभिनय गरिसकेपछि पनि मार्भलले मलाई त्यो भुमिकाबाट हटाउँछ भन्ने सोचिरहन्छु।’
अन्तर्वार्ताको क्रममा उनले स्पाइडर–म्यानको कठिन अडिसन प्रक्रिया पनि याद गरे।
अडिसन सात महिनासम्म चलेको थियो, जसमा उनले ६ राउन्ड पार गर्नु परेको थियो। अडिसनको अन्तिमतिर भने उनलाई आइरन–म्यानको रूपमा चिनिने चर्चित हलिउड अभिनेता रोबर्ट डाउनी जुनियरसँग स्क्रिन टेस्ट गर्नुपर्यो।
'मसहित अन्य आठ बाल कलाकारलाई रोबर्ट डाउनी जुनियरसँग स्क्रिन टेस्ट गराइएको थियो। त्यो मेरो जिन्दगीको सबैभन्दा यादगार अडिसन हो। रोबर्ट र म एकअर्का सँग निकै जमिरहेका थियौँ,’ टम सम्झिन्छन्, ‘अडिसन दिएपछि सबैले राम्रो अभिनय गर्याैं र फिल्मको लागि चाडैँ सम्पर्क गर्नेछौं भने तर दुइ महिना बितिसक्दा पनि कहीबाट जानकारी आएन।’
सबै अडिसन पार गरेपछि टमको अर्को अडिसन क्यापटेन अमिरेकाका अभिनेता क्रिस इभान्ससँग भयो। त्यसपछि, भने बल्ल आफू नै स्पाइडर–म्यानको भुमिकाको लागि चुनिएको विश्वस्त भएको बताउँछन्।
हाल टम होल्याण्ड तेस्रो स्पाइडर–म्यान फिल्मको सुटिङमा व्यस्त छन्।