चर्चित हलिउड रियालिटी स्टार किम कार्डासियन र र्यापर कान्ये वेस्टको सम्बन्ध-विच्छेद हुने हल्ला सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म फैलिएको छ।
केही समय यता यी चर्चित जोडी सँगै नदेखिएको हुनाले पनि उनीहरु एकअर्काबाट छुट्टिएको अनुमान लगाइएको छ।
हालै द हलिउड गसिपको रिर्पोट अनुसार कान्ये वेस्टले क्यालिफोर्नियास्थित आफ्नो निवासबाट पाँच सय जोर जुत्ता लिएर निस्केका छन्।
येजी नामक जुत्ता कम्पनीका मालिक कान्ये वेस्टले आफ्ना जुत्ताहरु लिएर घर छोडेको हुनसक्ने रिर्पोटले बताएको छ।
यो हल्ला फैलिएसँगै यता किम कार्डासियनले गत हप्ता आफ्नो इन्स्टाग्राममा येजी ब्रान्डकै जुत्ता लगाएको फोटो पोस्ट गरेको देखिन्छ।
कयौँ फ्यानका अनुसार उक्त फोटोले किम र कान्येले आफ्नो वैवाहिक सम्बन्धलाई दोस्रो मौका दिने निर्णय गरेको संकेत पनि हुन सक्ने अनुमान गरेका छन्।
केहीले भने किमले येजीको जुत्ता लगाएर कान्ये आफ्नो जुत्ता लिएर घरबाट निस्केको संकेत पनि गरेको हुन सक्ने बताएका छन्।
करिब आठ वर्षदेखि सँगै रहेका किम र कान्ये चर्चामा आइरहने जोडी मध्ये पर्छन्। दुई वर्षको चिनजानपछि यी दुईले सुरु गरेको वैवाहिक जीवन छ वर्ष भइसक्यो। तर, पछिल्लो समय यो जोडीको सम्बन्ध चिसिएको छ।
किम र कान्ये नजिकका एक स्रोतका अनुसार यी दुई केही वर्षयता देखि अलग्गै बसिरहेका छन्। दुवैको लागि यो समय कठिन छ र सायद चाँडै नै आधिकारिक रुपमा एकअर्कालाई छोड्ने छन्।
इ न्यूज अनुसार, पछिल्लो महिनादेखि किम र कान्ये आफ्ना छोराछोरीका लागि मात्र भेटिरहेका छन्। नर्थ वेस्ट, सेन्ट वेस्ट, चिगागो वेस्ट र स्लाम वेस्ट यी दुईका चार छोराछोरी हुन्।
उनीहरु छुट्टीमा पनि सँगै देखिएका थिएनन्। यसपालीको क्रिसमसमा किम आफ्नो परिवारसँग देखिएकी थिइन् र कान्ये वेस्ट वायोमिङ रेन्चमा थिए।
सम्बन्ध विच्छेद गर्ने विषयमा दुवैले अहिलेसम्म कुनै आधिकारिक खुलासा भने गरेका छैनन्।