अभिनेत्री प्रियंका चोपडाले फिल्म क्षेत्रमा हुने पक्षपातबारे आफ्ना धारणा सार्वजनिक गरेकी छन्। पारिवारिक सहयोग र पक्षपातबिना बलिउडमा प्रवेश गरेर हलिउडको सफलता चुमेकी प्रियंकाले फिल्म क्षेत्रमा रहेको पक्षपातवाद बारेमा टक-सो ‘अ लिटल लेट विथ लिली सिंह’ कार्यक्रममा आफ्नो मत राखेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
पक्षपातबारे उनले हालै विमोचन भएको पहिलो आत्मसंस्मरण ‘अनफिनिस्ड’मा पनि धेरै कुरा समावेश गरेकी छन्।
कार्यक्रममा प्रस्तोता लिली सिंहले प्रियंकालाई पक्षपात कारण आफ्नो करिअरमा संघर्ष गर्नुपरेको छ कि भन्दै प्रश्न गरे। जवाफमा प्रियंकाले भनिन्, ‘छ। यसबारे त मैले किताबमा पनि लेखेकी छु। पक्षपातबारे सबैभन्दा नराम्रो कुरा के हो भने यसले साधारण मान्छेहरू अवसर पाउनबाट वञ्चित बनाउँछ।’
आफ्नो परिवार र साथीभाइबारे हरेकले सोच्नु मान्छेको प्राकृतिक स्वभाव भएको भन्दै उनले भनेकी छन्, ‘हरेकले आफ्नो परिवारबारे सोच्छन् नि! उनीहरूका लागि अवसर बनाउन खोज्नु स्वाभाविक हो। मलाई पनि यस्तै गर्न मन लाग्छ।’
तर यसो भन्दैमा अरूलाई असर पुग्ने गरी फिल्म क्षेत्र नै आफ्नो बनाउन नहुने प्रियंका तर्क राख्छिन्। उनी यसलाई व्यवस्थित बनाउन सक्नेमा विश्वस्त हुँदै भन्छिन्, ‘बरू हामीले ठूलो मात्रामा अवसर सृजना गर्नुपर्छ। यसो गरे सबैलाई अवसर मिल्छ।’
प्रियंका सन् २००० नोभेम्बर ३० मा १८ वर्ष उमेरमै 'मिस वर्ल्ड' बनेकी थिइन्। प्रियंकाको जीवनशैली र कार्य क्षेत्र मिस वर्ल्ड भएसँगै फेरियो। उनी फिल्म क्षेत्रमा प्रवेश गरिन्। सन् २००२ मा तमिल फिल्म 'थमिजा' बाट यो क्षेत्रमा पाइला टेकेकी उनले २००३ मा निर्देशक अनिल शर्माको फिल्म 'द हिरोः लभ स्टोरी अफ अ स्पाइ' बाट बलिउड प्रवेश गरिन्।
त्यसपछिका केही फिल्ममा सफलताको स्वाद चाखिसकेकी उनका लागि मधुर भन्डारकर निर्देशित 'फेसन' टर्निङ प्वाइन्ट बन्यो। 'अन्दाज', 'अग्निपथ', 'क्रिश', 'सात खुन माफ', 'बर्फी', 'बाजिराव मस्तानी', डन १ र २ आदि उनका महत्वपूर्ण फिल्म हुन्।
सन् २०१५ मा प्रियंकाले हलिउड प्रवेश गरेर सफलताको अर्को छलाङ मारिन्। यही वर्ष सेप्टेम्बरदेखि उनी एबिसी (अमेरिकन ब्रोडकास्टिङ कम्पनी) स्टुडिओबाट प्रसारण हुने 'क्वान्टिको' मा काम गर्न थालिन्। क्वान्टिको अमेरिकी थ्रिलर नाटक हो। यो २०१५, सेप्टेम्बर २७ देखि प्रशारण भएको थियो। हाल उनी बलिउड र हलिउड दुवैतिरको काम सन्तुलन मिलाएर करिअर अघि बढाइरहेकी छिन्।
प्रियंकाले हालै लेखकको रुपमा पनि डेब्यु गरेकी छन्। गत मंगलबार मंगलबार मात्र उनले आफ्नो पहिलो आत्मसंस्मरण ‘अनफिनिस्ड’ सार्वजनिक गरेकी छन्।