चर्चित अमेरिकी सुपरहिरो फिल्म ‘जस्टिस लिग’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। फिल्ममेकर ज्याक सिन्डरको निर्देशनमा बनेको जस्टिस लिगको नयाँ फिल्मलाई ‘सिन्डर कट’ पनि भनिएको छ।
द इन्डियन एक्सप्रेसका अनुसार ज्याक सिन्डरका फ्यानहरुले लामो समय देखि उनकै निर्देशनमा बनेको जस्टिस लिग सार्वजनिक गर्न अनुरोध गरेका थिए। यही कारण गत वर्ष ज्याक सिन्डरको एकल निर्देशनमा जस्टिस लिग फिल्म बन्ने घोषणा गरिएको थियो।
फिल्म घोषणा गरेको करिब एक वर्षपछि आइतबार जस्टिस लिगको नयाँ ट्रेलरमा सार्वजनिक भएको हो।
ट्रेलरको सुरुवात सुपरभिलेन लेक्स लथरको डाइलग ‘द गड इज डेड’ बाट सुरु भएको छ।
ट्रेलरमा देखिने घटनाहरु ‘ब्याटम्यान भर्सेस सपुरम्यानः डन अफ जस्टिस’ लगत्तै सुरु गरिएको छ। फिल्ममा ब्याटम्यान र वन्डर वुमन सुपरहिरोहरुको टोली भेला गर्न निस्केका हुन्छन्। जसमा फ्ल्यास, एक्वाम्यान र साइबोर्ग सहित सुपरहिरो टोली पृथ्वीलाई सुपरभिलेन स्टेपेनवल्फ, डिसाड र डार्कसिल्डबाट बचाउन तयार भएको देखिन्छ।
फिल्ममा सुपरम्यान आफ्नो पुरानो रातो र निलो रंगको सुटमा देखिँदैनन्। सुपरम्यानले कालो रंगको सुट लगाएका छन्। यसैगरी साइबोर्गको भेषमा पनि परिवर्तन देखिन सकिन्छ।
ट्रेलरको अन्त्य जोकरको सानो झलकबाट हुन्छ। यी 'जोकर' सन् २०१६ मा रिलिज भएको फिल्म ‘सुसाइड स्क्वाड’ मा पनि देखिएका थिए।
अमेरिकी अभिनेता ज्यारेड लेटोद्वारा अभिनय गरिएको सो जोकर पात्रको रुप जस्टिस लिगको नयाँ ट्रेलरमा धेरै फरक देखिन्छ।
जोकरको कपाल लामो र हरियो रंगको छैन। उनको मुखमा भएका ट्याटुहरु पनि देखिँदैन। उनी अस्पतालको कपडामा हुन्छन् र उनको घाँटीमा सर्जिकल मास्क झुन्डिएको हुन्छ।
यो ट्रेलरले डिसी कमिक फ्यानबीच जस्टिस लिगको नयाँ कथा हेर्न उत्सुकता बढाएको द इन्डियन एक्सप्रेसले लेखेको छ।
फ्यानहरुले ज्याक सिन्डरको एकल निर्देशनमा बनेको जस्टिस लिगलाई नै ओरिजिनल संस्करण मानेको छन्।
सन् २०१७ मा रिलिज भएको जस्टिस लिग फिल्म पनि ज्याक सिन्डरकै निर्देशनमा बनेको थियो। तर, बीचमा उनको छोरीको मृत्युको कारण ज्याकले फिल्म छाडेका थिए। त्यसपछि सो फिल्म अर्का फिल्ममेकर जोस ह्वोइडनको निर्देशनमा बनेको थियो।