बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्कल दोस्रो बच्चाको पर्खाइमा छन्। द न्यूयोर्क टाइम्सका अनुसार आइतबार राजकुमार ह्यारी र मेगन मार्कलका एक प्रवक्ताले दम्पती नयाँ सदस्यको पर्खाइमा रहेको जानकारी सार्वजनिक गरेका हुन्।
‘ह्यारी र मेगनका पहिलो सन्तान आर्ची दाइ बन्न लागेका छन्,’ प्रवक्ताले भनेका छन्, ‘यो खबरले परिवारमा ठूलो खुसी छाएको छ।’
यो खबर सार्वजनिक भएको केही समयपछि उनीहरुको नजिकका फोटोग्राफर साथी मिसान ह्यारीमनले आफ्नो इन्स्टाग्राममा ह्यारी र मेगनको फोटो पोस्ट गरेका थिए। जसमा मेगन गर्भवती भएकी देखिन्छिन्।
फोटोको क्याप्सनमा मिसान ह्यारीमनले लेखेका छन्, ‘मेग, तिम्रो प्रेम कहानी सुरु भएको विवाहको दिन म पनि साक्षी थिएँ। यो प्रेम अझै बढिरहेको आफैंले क्याप्चर गर्न पाउँदा म सम्मानित महसुस गरिरहेको छु।’
दोस्रो सन्तान कहिले जन्मने भन्नेबारे भने कुनै खुलासा नभएको द न्यूयोर्क टाइम्सले जनाएको छ।
सन् २०१९ मा ह्यारी र मेगनका पहिलो सन्तान आर्चीको जन्म भएको थियो।
यसैको एक वर्षपछि मेगन फेरि गर्भवती भएकी थिइन्। तर, गत जुलाइमा उनको गर्भ खेर गएको सार्वजनिक भएको थियो।
यो दुखद घटनाले मेगनलाई निकै असर पारेको उनले एक अन्तर्वाताको क्रममा पनि बताएकी थिइन्।
अब आउने नयाँ सन्तानको खबरपछि भने राजकुमार ह्यारी र मेगन खुसी देखिन्छन्।