दक्षिण कोरियाका के-पप स्टार ह्वांग ह्युनजिनलाई आफ्नै ब्यान्डले अस्थायी रुपमा निलम्बन गरेको छ। उनलाई स्कुल पढ्दा साथीसँग नराम्रो बोलेको आरोप लागेपछि निलम्बन गरिएको हो।
‘स्ट्रे किड्स’ ब्यान्डका बीस वर्षीय गायक ह्युनजिनले किशोरावस्थामा स्कुलको साथीलाई नराम्रो बोलेर दुर्व्यवहार गरेका कारण उनको प्रबन्धन एजेन्सी जेवाइपी इन्टरटेन्मेन्टले केही समयका लागि कामबाट निकालेको बिबिसीले बताएको छ।
गत हप्ता एक अज्ञात प्रयोगकर्ताले सामाजिक सञ्जालमा ह्वांग ह्युनजिनले आफूसँग स्कुल पढ्दा अभद्र व्यवहार गरेको लेखेपछि के–पप स्टार विरुद्ध कदम चालिएको हो।
जेवाइपी इन्टरटेन्मेन्टले गायकका पूर्व शिक्षक र स्कुलका साथीहरुसँग अनुसन्धान पनि गरेको थियो। अन्तमा ह्युनजिनले आफ्नो गल्ती स्वीकार गरेर आरोप लगाउने व्यक्तिलाई भेटेर नै विगतको कामका लागि माफी मागेको भनाइ छ।
‘ह्युनजिन स्कुलमा साथीहरुलाई असभ्य र अनुपयुक्त शब्दले चोट पुर्याएकाे कुरालाई लिएर पछुतो महसुस गरिरहेका छन्,’ शनिबार जेवाइपी इन्टरटेन्मेन्ट एजेन्सीले भन्यो, ‘उनी आफ्नो पुरानो गतिविधि स्वीकार गरेर त्यसलाई सुधार्न तयार छन्।’
ह्युनजिनले आफ्नो इन्स्टाग्राममा पनि हातले लेखेर माफी मागेको पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘त्योबेला मेरो जे उद्देश्य भए पनि कसैलाई बिर्सिन नसक्ने पीडा दिएकोमा म क्षमा पाउन लायक छु जस्तो लाग्दैन।’
पुराना घटनाको कारण उनलाई अहिले कामबाट निकालेको कुरालाई लिएर सामाजिक सञ्जालमा चर्को विवाद भइरहेको बिबिसीले जनाएको छ। कोहीले ह्युनजिनले पाएको सजाय ठिक रहेको भनेका छन् त कोहीले भने उनलाई माफी दिनुपर्ने बताएका छन्।
हाल दक्षिण कोरियामा सात अन्य सेलिब्रेटीले पनि यस्तै आरोपको सामना गरिरहेका छन्, तर धेरैले ती आरोपहरु अस्वीकार गरेका छन्।
गत महिना दक्षिण कोरियाकै भलिबल सुपरस्टार र जम्ल्याहा बहिनीहरुको एक जोडीलाई त्यस्तै आरोप लागेपछि कोरियाली राष्ट्रिय टोलीबाट हटाइएको थियो।