हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीलाई सबैभन्दा आकर्षक जोडी मानिन्छ।
यो जोडीको भेट हलिउड फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सुटिङमा भएको थियो। त्यही क्रममा प्रेममा परेका यी दुई चाँडै वैवाहिक बन्धनमा बाँधिए। तर छोटो समयमा उनीहरूको सम्बन्धविच्छेद भयो।
एकअर्कासँग राम्रो सम्बन्धमा हुँदा धेरैले ब्राड पिट र एन्जेलिनालाई ‘आइडल’ जोडीका रूपमा पनि लिने गर्थे। टुडे इन्डियाका अनुसार एक समय थियो जब यो हलिउड जोडीलाई बलिउड अभिनेत्री करिना कपुर र अभिनेता सैफ अलि खानको जोडीसँग दाँजिन्थ्यो।
ब्राड पिट र एन्जेलिना जोलीको जस्तै करिना र सैफ अलिको पनि आफ्नै कथा छ।
बलिउड फिल्म ‘टसन’को सुटिङ सेटमा करिना र सैफको भेट भएको थियो। कामको शिलशिलामा उनीहरू प्रेममा परे।उनीहरूको प्रेम सम्बन्धबारे थाहा पाउने पहिलो व्यक्ति अभिनेता अक्षय कुमार हुन्।
अभिनेत्री अमृता सिंहसँगको सम्बन्धविच्छेद पछि सैफ थुप्रै विवादमा परे। उसैगरी ब्राड पिट पनि आफ्नी पूर्व प्रमिका जेनिफर एनिस्टनसँगको बिछोड कारण मिडिया आकर्षणमा परेका थिए।
यी दुई हलिउड र बलिउड जोडीको समानताहरु देखेर नै फ्यानले उनीहरुलाई एकअर्कासँग दाँज्थे।
सन् २०१२ मा करिना र सैफले विवाहको तयारी गरिरहँदा सैफलाई उनीहरुको जोडी ब्राड पिट र एन्जेलिना जोलीसँग दाँजिएकोबारे प्रश्न गरिएको थियो। यसमा सैफले कुनै टिप्पणी दिएनन्।
यता टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा ब्राड पिटलाई पनि उही प्रश्न गरिएको थियो। जसको जवाफमा उनले भनेका थिए, ‘करिना कपुर र सैफ अलि खानको जोडी निकै राम्रो छ। सम्बन्धमा रहँदा कुनै पनि दुई व्यक्ति अर्को जस्तो हुन सक्दैन। त्यसैले उनीहरूलाई म र एन्जेलिनासँग तुलना गर्नु ठिक हो वा होइन थाहा छैन। तर, म खुसी छु उनीहरु चाँडै विवाह गर्दैछन् र म उनीहरूको सुन्दर जीवनको कामना गर्छु।’
करिना कपुर र सैफ अलि खानका अहिले दुई सन्तान छन्। ब्राड पिट र एन्जेलिना जोलीका भने दुई छोरी र चार छोरा गरेर छ सन्तान छन्।