सन् २०१३ मा हलिउड फिल्म सिरिज ‘फास्ट एन्ड फ्यूरिअस’का चर्चित अभिनेता पल वाकरको गम्भीर कार दुर्घटनामा मृत्यु भयो। गाडीका सौखिनसमेत रहेका पल वाकरको आफ्नै २१ वटा गाडी थियो। तर चालीस वर्षको उमेरमा नै उनले आफूलाई मनपर्ने कार चलाएर ज्यान गुमाउनु पर्यो।
२२ वर्षीय मेडो रेन वाकर बुवा पलको दुर्घटना भएको समयमा १५ वर्षकी थिइन्। बुवाको मृत्युपछि उनी सानैमा करोडपति बनेकी थिइन्। त्योबेला अभिनेता पलको कमाई करिब दुई करोड पचास लाख अमेरिकी डलर थियो। उनले आफ्ना सबै सम्पत्ति छोरी मिडोका नाम गरेका थिए।
पलको मृत्युपछिको सात वर्षसम्म मेडो बाहिरी मिडियाबाट टाढा रहिन्। उनी आफ्नी आमा रेबेका सोटेरोससँग हुर्किइन्। रेबेका सोटेरोस पलकी पूर्व प्रेमिका थिइन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार मेडो उनीहरुको एक मात्र सन्तान हुन्।
मिडो न्यूयोर्क फेसन विककी मोडल हुन्। यही वर्ष भएको एक फेसन वाक प्रोग्रामबाट उनी फेरि एकपटक चर्चामा आएकी छिन्। अग्लो, दुब्ली र राम्री मेडोको अन्य चर्चित सुपरमोडलसँग पनि राम्रो सम्बन्ध छ।
प्राय: धनी सेलिब्रेटीका छोराछोरीले अभिभावकका पैसा सपिङ वा पार्टीमा खर्च गरेको देखिन्छ, तर मेडो तीमध्ये पर्दिनन्।
पल वाकरकी छोरी मेडोले फेसन दुनियाँमा आफ्नो नाम बनाइसकेकी छिन्। हालै अन्तर्राष्ट्रिय ब्रान्ड गिभन्चीले प्यारिसमा गरेको फेसन विक उनीबाटै सुरु गरिएको थियो।
२२ वर्षको उमेरमा ठूला कार्यक्रममा र्याम्प वाक गरेरै उनले पैसा कमाउन थालिसकेकी छिन्, तर योभन्दा अघि पनि मेडोका लागि पैसाको खाँचो कहिल्यै भएन।
सन् २०१५ मा उनले आफ्नो स्वर्गीय बुबाको नाममा ‘पल वाकर फाउन्डेसन’ स्थापना गरिन्। जसअन्तर्गत समुन्द्री जीवविज्ञान अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिन्छ।
पल वाकर समुन्द्र संरक्षण र अनुसन्धानका उत्सुक संरक्षक थिए। ‘पल वाकर फाउन्डेसन’ उनको विरासत विस्तार गर्ने उद्देश्यले स्थापित भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
आफ्नो बुबाको पाइला पछ्याएर राम्रो काममा लागेको हुनाले मेडोले फ्यानहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेकी छिन्। उनलाई पलका अन्य चर्चित सहकर्मी अभिनेताहरुले पनि साथ दिइरहेका छन्।
गत वर्ष मेडोको २१ औं जन्मदिनको अवसरमा हलिउड अभिनेता भिन डिजलले मेडोको फोटो पोस्ट गरेर भावनात्मक सन्देश लेखेका थिए। भिनले मेडो जसरी अघि बढिरहेकी छिन् त्यसमा आफूलाई गर्व लागेको गरेको बताएका थिए।