निजी जीवनमा विवाद र पेशागत रुपमा घाटा हुन थालेपछि कलाकारको करियर बर्बाद भएका कयौं उदाहरण छन्। हलिउडका चर्चित अभिनेता जोनी डिप अहिले यही समस्याको शिकार भएका छन्।
‘पाइरेट्स अफ द क्यारेबियन’, ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’, ‘इडवार्ड सिजरह्यान्ड’लगायत थुप्रै ब्लकबस्टर फिल्ममा अभिनय गरेका उनको करियर संकटमा परेको छ। पूर्वश्रीमती तथा अभिनेत्री एम्बर हर्डसँगको कानुनी लडाइँ र बेलायती पत्रिकासँग मानहानी मुद्दा झेलेका कारण पछिल्ला केही वर्षमा अभिनेता जोनीको अभिनय करियर ओरालो लागेको छ।
जोनी डिप र एम्बर हर्डले सन् २०१५ मा विवाह गरेका थिए तर एक वर्षमै उनीहरुको सम्बन्ध विच्छेद भयो। एम्बरले पछि जोनीलाई घरेलु हिंसाको आरोप लगाइन् जुन अदालतबाट कानुनी रुपमा मेलमिलापमा टुंगियो। तर एम्बर यत्तिमै रोकिइनन्, उनले सामाजिक सञ्जालमा जोनीबारे नराम्रो कुरा फैलाउन थालिन्।
आफूलाई बदनाम गरेको भन्दै जोनीले एम्बर विरुद्ध ५० मिलियन अमेरिकी डलर क्षतिपूर्ति माग राखी मुद्दा हाले। यसैबीच सन् २०२० मा एक बेलायती पत्रिकाले जोनीलाई श्रीमती पिट्ने व्यक्ति भनेर लेख्यो, जसमा उनले सो पत्रिकाविरुद्ध मानहानीको मुद्दा दायर गरे। अदालतले निवेदन खारेज गरेपछि जोनीले त्यही वर्ष मुद्दा हारे। कानुनी परीक्षणको हारले गर्दा उनी ठूलो समस्यामा फसे।
हलिउड बिस्तारै उनीबाट टाढा हुन थाल्यो र उनको आउँदो फिल्म ‘फ्यान्ट्यास्टिक बिस्ट’को काम छोड्न दबाव दिन थाल्यो। आफ्नो व्यक्तिगत जीवनबारे बाहिर प्राय: नबोल्ने जोनी अचेल फिल्म क्षेत्रले उनलाई बहिष्कार गर्न खोजिरहेको बताएका छन्।
सन्डे टाइम्ससँग कुराकानी गर्दै जोनीले भनेका थिए, ‘हामीले यी मानिसहरुको आँखामा हेरेर शोषण नगर्ने र फिल्म सम्मानजनक हुने प्रतिज्ञा गरेका छौं। मलाई विश्वास छ हामीले वाचा गरेको कुरा तोडेका छैनौं र पछि आउनेले पनि यो कुरा कायम राख्नु पर्छ।’
उनका अनुसार आफ्नो कानुनी लफडाको कारण उनको पछिल्लो फिल्म ‘मिनामाता’लाई पनि असर पारिरहेको छ। फिल्मले बेलायतमा ठाउँ पाए पनि अमेरिकामा भने आफ्नो विवादको कारण फिल्मको रिलिज डेट अझै निश्चित भएको छैन।
‘केही फिल्महरुले दर्शकको मन छुन्छ र मिनामाताका दर्शक यो अनुभवबाट वञ्चित भइरहेका हुनसक्छन्,’ जोनी भन्छन्, ‘हलिउडले भने मजस्तो व्यक्ति, जो केही वर्षदेखि अप्रिय र नराम्रो स्थितिमा फसिरहेको छ, उसलाई बहिष्कार गर्न खोजिरहेको छ।’
जोनीले आफ्नो लक्ष्य हासिल गर्न बाहिरी विवादलाई झेलेर अघि बढिरहने बताएका छन्। उनले भने, ‘म सबै कुरा मिलाउन एउटै बाटोमा हिँडिरहेको छु र चाँडै उज्यालो ल्याउन खोजिरहेको छु।’