अफगानिस्तानकी प्रसिद्ध फिल्म निर्देशक शहरबानु सादत धेरै अफगानीजस्तै आफ्नो परिवार लिएर देशबाट भाग्न चाहन्छिन्। तालिबान समूहले राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएसँगै त्यो ठाँउ छाडेर निस्किन पाइन्छ वा पाइँदैन भन्ने कुराले उनको मन पिरोलेको छ।
शहरबानुसँगै अहिले हजारौं अफगानी आफ्नो देश छाड्न संघर्ष गरिरहेका छन्। यस्तोबेला त्यहाँका महिला र बालबालिकाको ज्यान बढी जोखिममा छ। शहरबानुले सन् २०१६ मा अफगानी फिल्म ‘वुल्फ एन्ड सिप’बाट कान्समा शीर्ष निर्देशक फर्नाइट अवार्ड जितेकी थिइन्। त्यसको तीन वर्षपछि उनी ‘द अरफानेज’ फिल्मबाट फेरि एकपटक कान्स विजेता भएकी थिइन्। तर अब सबै क्षेत्रहरु तालिबानको कब्जामा आएसँगै महिलाहरुले काम गर्ने पाउने अधिकार पनि खुम्चिदै जाने कुराले उनी चिन्तित छन्।
यो स्थितिमा फिल्म क्षेत्रमा पर्ने असर अझै बढी रहेको द हलिउड रिपोर्टरले जनाएको छ। ‘हामीलाई अहिले मुख्य समस्या एयरपोर्ट पुगेर प्लेन कसरी खोज्नेबारे छ,’ द हलिउड रिर्पोटरसँग कुरा गर्दै शहरबानुले भनिन्, ‘एयरपोर्टको पहिलो प्रवेशको चेकपोइन्ट नै तालिबानको नियन्त्रणमा छ र यहाँको एयरपोर्टको बाटोमा धेरै चेकपोइन्टहरु छ। उनका अनुसार एयरपोर्टसम्म पुग्न उडानका सबै विवरण र उनीसँग यात्रा गर्ने मानिसहरुको प्लेनमा सिट छ वा छैन पुष्टि गर्ने कागजात हुन जरुरी छ। तर हालको अवस्थामा एयरलाइन्सहरुले यी कुनै विवरण दिन सकेका छैनन्। उनी देशबाट बाहिर निस्किन पाएकी छैनन्।
२० वर्षपछि अमेरिकाले आफ्नो सबै सेनालाई अफगानिस्तानबाट हटाएपछि तालिबानले देशमा अधिकांश सहरहरु दश दिनमा नै आफ्नो कब्जामा लिए। यसले गर्दा त्यहाँका मानिसहरुले देश छाड्ने पर्याप्त समय पाएनन्।
‘हामी अफगानिस्तानमा बस्नेहरुले दिनकै तालिबानले छिट्टै देशलाई आफ्नो नियन्त्रणमा लिने जस्ता कुरा सुन्दै आइरहेका थियौं, तर तालिबानले यति चाडैं देशलाई कब्जामा लिन्छ भनेर कसैलाई थाहा थिएन। हामीले उनीहरुलाई काबुलमा आफ्नो सेना फैलाउन अझै एक महिना लाग्ला भनेर सोचेका थियौं,’ उनी भन्छिन्, ‘तालिबान काबुल पस्नुभन्दा एकदिन अगाडि एउटा प्लेनको टिकेट पाएकी थिएँ तर मेरो परिवार मसँगै जान नपाउने भएपछि म गइनँ।’
शहरबानुले तालिबानको त्रास त्यतिबेला महसुस गरिन् जब उनी आफ्नो पैसा लिन नजिकैको बैंक गएकी थिइन्। प्राय: दशजना जति मानिस हुने त्यहाँ त्यो दिन पाँच सयभन्दा बढी आफ्नो पैसा निकाल्न आएका थिए। उनले भनिन्, ‘भीड धेरै भएपछि बैंक खाली गरियो र सबैलाई बाहिर धकेलेर सडकमा फ्यालियो र त्यहीबेला मैले तालिबानको झन्डा भएको गाडीहरु देखेकी थिएँ।’
‘यदि म यहाँबाट बाँचेर निस्किन पाएँ र फिल्महरु बनाउने मौका मिल्यो भने मेरो सिनेमा सधैंका लागि परिवर्तन हुनेछ,’ शहरबानु भन्छिन्, ‘मैले अहिले आफ्नो वरिपरिको स्थिति अवलोकन गरिरहेको, अन्याय हेरिरहेको र यी भयानक क्षण आफ्नो शरीरमा बचाएर राखेको छु। यसलाई सम्झेर फिल्म बनाइ संसारलाई देखाउँछु भन्ने लागिरहेको छ। यदि म बाँचे भने यहाँ के भइरहेको छ भनेर फिल्म बनाउने छु।’
साहरबानुका अघिल्ला फिल्महरु आमअफगानी जीवनको चित्रणमा केन्द्रित छन्। उनले आफ्ना फिल्महरु राजनीतिको संसार र द्वन्द्वबाट टाढा राखिन्, तर अब भने उनी ऐतिहासिक फिल्महरु बनाउन चाहान्छिन्। मानिसहरुलाई अफगानिस्तान कसरी आजको स्थितिमा आइपुग्यो र यसमा अन्य देशहरुको के भूमिका रह्यो भन्ने कुरा देखाउन चाहन्छिन्।
‘मलाई लाग्छ हामीलाई कम्तीमा पनि अफगानिस्तानको पछिल्लो एक सय वर्षको इतिहास जान्न महत्वपूर्ण छ, किनकी यहाँ कोही किताब पढ्दैनन्,’ उनी भन्छिन्, ‘हामी फिल्म बनाउन सक्छौँ र अतीतबाट सिक्न सक्छौं। यसरी हामी अफगानिस्तान र यससँग संलग्न अन्य देशहरुमा आफ्नो स्थिति बुझ्न सक्छौं। इतिहास जान्नु नै अफगानिस्तानको भविष्यको लागि एक आशा हो।’
साहरबानु अहिलेको अवस्था र रिसलाई नियन्त्रणमा राखेर यसलाई भविष्यमा आफ्नो काममा उतार्ने बताउँछिन्। ‘हामीले आफ्नो रिसबाट उर्जा पैदा गर्न सक्छौं। म फिल्म बनाउन सक्छु, अरुले लेख्न सक्छन् र अन्यले यसको व्यवस्थापन गर्न सक्छन्। यी सबै उर्जाबाट हामीले एक साथ केही गर्नुपर्छ,’ उनी भन्छिन्, ‘तर यस समयमा सबैभन्दा महत्वपूर्ण कुरा एयरपोर्ट पुग्नु र यहाँबाट बाहिर निस्कनु हो।’