२४ वर्ष अगाडी सन् १९९२ डिसेम्बर १७ मा जेम्स क्यामेरनको निर्देशनमा बनेको फिल्म ‘टाइटानिक’ले हलिउडमा ठूलो हंगामा मच्चाएको थियो।
टाइटानिको कथा र यसका कलाकार लियोनार्दो डिक्याप्रियो र केट विन्स्लेटको अभिनयले दर्शकको मन जित्यो र यो फिल्म छोटो समयमा नै विश्व चर्चित बन्यो।
सिनेमाको इतिहासमा टाइटानिक सबैभन्दा धेरै कमाइ गर्ने तेस्रो फिल्म बन्यो, जसले दुई बलियन अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ।
साथै यस फिल्मले ११ वटा ओस्कार अवार्डसमेत जितेको छ। अर्को वर्ष टाइटानिकको आफ्नो २५ औं वार्षिक उत्सव मनाउँदै छ र यही खुसीयालीमा यसका निर्देशक जेम्स क्यामेरनले नयाँ योजना बनाइरहेका छन्।
टाइटानिकले पाएको सफलतापछि निर्देशक जेम्स अभिनेता लियोनार्दो डिक्याप्रियो र अभिनेत्री केट विन्स्लेटसँग फेरी नयाँ फिल्ममा काम गर्ने इच्छा व्यक्त गरिरहेका छन्।
हाल नयाँ फिल्म ‘अवतार–२’को निर्देशनमा रहेका जेम्स लियोनार्दो र केटलाई लिएर टाइटानिकको डकुमेन्ट्री बनाउने सोच गरिरहेका छन्।
योसँगै उनले टाइटानिकका केही सेटहरु पुन: बनाउने र डकुमेन्ट्रीभर पृष्ठभूमिको रुपमा प्रयोग गर्ने बताइएको छ। तर यो जानकारी आधिकारिक भने नभएको कोइमोइले जनाएको छ।
टाइटानिक फिल्म रिलिज हुँदा दुवै लियोनार्दो डिक्याप्रियो र केट विन्स्लेट २२ वर्षका मात्र थिए। उनीहरुका जोडीलाई दर्शकले निकै रुचाएका थिए। यी दुई कलाकार वास्तविक जीवनामा पनि नजिकका साथी हुन्।
सन् २०१६ मा केटसँगको अभिनयबारे कुरा गर्दै लियोनार्दोले एक अन्तर्वार्तामा भनेका थिए, ‘केट र मेरो लागि टाइटानिक एउटा परिक्षण थियो। हामीले थुप्रै एकल फिल्महरु खेलिसकेका छौं। अभिनेत्रीको रुपमा म केटलाई मन पराउछु। टाइटानिकमा अभिनय गर्न पनि उनैले मलाई हौसला दिएकी थिइन्। र यो फिल्म हामीले सोचेभन्दा भव्य भयो।’