चर्चित कोरियन सिरिज ‘स्क्विड गेम’ अहिले नेटफिल्क्सका सिरिजमध्ये पहिलो रोजाइमा परिरहेको छ।
कोरियामा साना बालबालिकाले खेल्ने खेलमा घातक नियम राखेर एक ठूला व्यक्तिका समुहलाई खेलाइ विजेतालाई भारी नगद उपहार दिने कथामा आधारित यो सिरिज नेटफ्ल्क्सिको सूचीमा शीर्ष एक स्थानमा समेत परेको थियो।
हालै चर्चित ‘स्क्विड गेम’लाई अर्को नयाँ सिरिजले पछि पारेको छ। बिजनेस इन्साइडरका अनुसार ‘स्क्विड गेम’ अमेरिकाको नेटफ्ल्क्सि सूचीमा एक हप्ताका लागि शीर्ष स्थानमा परेको थियो। गत शनिबार भने यसको स्थान नयाँ अमेरिककी सिरिज ‘यू’ले लिएको छ र ‘स्क्विड गेम’ दोस्रो स्थानमा झरेको छ।
अमेरिककी सिरिज ‘यू’को यो तेस्रो सिजन रिलिज भएको हो। यो सिरिजको कथा एक हत्यारा जोडीको वरिपरि घुमेको छ, जो सँगै मिलेर आफ्नो नवजात शिशु हुर्काइरहेका हुन्छन्। यस सिरिजको पहिलो र दोस्रो सिजन केही वर्ष अघि नै रिलिज भएको थियो।
पछिल्लो समय धेरै चर्चा पाउन सफल ‘स्क्विड गेम’ ले नेटफ्ल्क्सिको शीर्ष स्थानमा पर्ने गैरअंग्रेजी सिरिजको रुपमा नयाँ कीर्तिमान राखेको छ। सेप्टेम्बरमा रिलिज भएलगतै यो सिरिज नेटफ्ल्क्सिको सबैभन्दा धेरै हेरिएको सिरिज बनेको थियो। त्योबेला ‘स्क्विड गेम’ संसारभरबाट करिब एक सय ११ मिलियनले हेरेका थिए।
‘स्क्विड गेम’ले अमेरिकाको नेटफ्ल्क्सिको शीर्ष एक स्थान गुमाए पनि यो अहिले पचासवटा देशका नेटफ्ल्क्सिको शीर्ष दश स्थानमा परिरहेको छ। तर, दक्षिण कोरियाको नेटफ्ल्क्सिमा भने ‘स्क्विड गेम’लाई पछि पार्दै अर्को सिरिज ‘होमटाउन चा–चा–चा’ पहिलो स्थानमा रहेको बिजनेस इन्साइडरले जनाएको छ।
‘स्क्विड गेम’को उच्च प्रदर्शनले गर्दा संसारभर अंग्रेजीबाहेक अन्य भाषाका सिरिजप्रति मोह बढिरहेको छ। साथै स्पेनिस सिरिज ‘मनी हेस्ट’ र फ्रेन्च ड्रामा ‘लुपिन’ जस्ता सिरिजको सफलतापछि अन्तर्राष्ट्रिय प्रोडक्सनले उचाइ पाइरहेको छ।
बिजनेस इन्साइडरका अनुसार ‘स्क्विड गेम’को दोस्रो सिजन आउने कुरा अझै तय भएको छैन। प्रशंसकहरुले भने पहिलो सिजिनमा आधारित रहेर अर्को नयाँ सिजन रिलिज गर्न माग गरिरहेका छन्।