मार्भल सिनेम्याटिक युनिभर्सको प्रोडक्सनमा बन्ने नयाँ फिल्म ‘इटरनल्स’को टिजर रिलिज भइसकेको छ। ‘एभेन्जर्स’ र ‘इन्डगेम’ फिल्मको धमाकेदार सफलतापछि दर्शकहरु अब ‘इटरनल्स’को प्रतिक्षामा उत्साहित छन्।
‘इटरनल्स’ यस वर्षको उत्कृष्ट निर्देशकको रुपमा ओस्कर अवार्ड जितेकी क्लोइ झाओको निर्देशनमा बन्न लागेको हो। यसले गर्दा पनि दर्शकहरु उनको फिल्म हेर्न आतुर छन्। 'इटरनल्स' एन्जेलिना जोली, सलमा हायक, गेम्मा चान, किट ह्यारिङटन जस्ता चर्चित हलिउड कलाकारको अभिनय रहने भएकोले पनि फिल्मको चर्चा झनै बढाएको छ।
अझ, हालै चर्चित अमेरिकी गायक ह्यारी स्टाइल्स पनि मार्भल सिनेम्याटिक युनिभर्समा देखिने कुराले चर्चा पाएको छ। कोइमोइका अनुसार ह्यारीले ‘इटरनल्स’मा सुपर भिलेनको रुपमा देखिएका थानोस पात्रको भाइ भएर अभिनय गर्नेछन्।
थानोस मार्भलको एक चर्चित सुपर भिलेन पात्र हो, जो ‘एभेन्जर्स’ र ‘इन्डगेम’ फिल्ममा देखिएका थिए। ह्यारीले थानोसका भाइ इरोसको रुपमा ‘इटरनल्स’मा अभिनय गर्ने जानकारी फैइलिएसँगै उनका प्रशंसकबीच उत्साह छाएको छ। अमेरिकी म्यागजिन भेराइटीका सिनियर लेखक म्याट डोन्नेलीले पनि आफ्नो ट्विटरमार्फत् ह्यारी मार्भल सिनेम्याटिक युनिभर्समा प्रवेश गरेको जानकारी गराएका थिए।
उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘ह्यारी स्टाइल्सले मार्भल सिनेम्याटिक युनिभर्समा आएका छन्। उनी थानोसका भाइ इरोसको रुपमा अभिनय गर्ने छन्।’ ह्यारीले अभिनय गर्ने पात्र इरोसको व्यवहार थानोसभन्दा उल्टो हुने बताइएको छ।
फिल्ममा उनी भिलेनको रुपमा नभइ हिरोहरुसँगै काम गर्ने अनुमान गरिएको छ। म्याट डोन्नेलीको ट्विटपछि ट्विटरमा ह्यारीका प्रशंसहरुले पनि खुसी मनाइरहेका छन्। यसले ‘इटरनल्स’ फिल्मको चर्चा अझ धेरै माथि पुर्याएको कोइमोइले जनाएको छ।