हलिउड अभिनेता एलेक बाल्डविन आफ्नो नयाँ फिल्म 'रस्ट' को सुटिङ क्रममा भयानक दुर्घटनामा परेका छन्। फिल्ममा प्रोप बन्दुक प्रयोग गर्दा गल्तीले उनका हातबाट सिनेमेटोग्राफर हलिना हचिनको मृत्यु भएको छ। यो घटनामा फिल्मका निर्देशक जियोल सुजासमेत घाइते भएका छन्।
बलिउड लाइफका अनुसार यो घटना अमेरिकाको सान्टा फेस्थित बोनाका क्रिक रान्चमा भएको हो। गोली फायरिङपछि सिनेमेटोग्राफर हलिनालाई तत्काल यूनिभर्सिटी अफ न्यू मेक्सिको अस्पताल लगिएको थियो, तर उनको अस्पतालमै ज्यान गयो। निर्देशक जियोलको भने नजिकैको मेडिकल सेन्टरमा उपचार गरिएको थियो।
सान्टा फेका सेरिफका अनुसार अहिलेसम्म अभिनेता एलेक बाल्डविन विरुद्ध कुनै आरोप दायर भएको छैन। उनलाई पक्राउ पनि गरिएको छैन। सेरिफ कार्यालयले घटनामा अझै अनुसन्धान भइरहेको बताएको छ। बाल्डविनका प्रनितिधिहरुले पनि यस विषयमा कुनै टिप्पणी दिएका छैनन्।
बाल्डविनले ‘बिटल जुस’, ‘द क्याट इन द ह्याट’, ‘द बस बेबी’, ‘माडास्कार’, ‘द डिपार्टटेड’ जस्ता थुप्रै चर्चित फिल्ममा अभिनय गरेका छन्। उनी ‘सटर्डे नाइट लाइब’ र अन्य टेलिभिजन कार्यक्रममा पनि परिचित छन्। हालसम्म बाल्डविनले तीन वटा गोल्डेन ग्लोब अवार्ड, आठ वटा स्क्रिन एक्टर गिल्ड अवार्ड र तीन वटा प्राइम टाइम एमी अवार्ड जितेका छन्।
नयाँ फिल्म ‘रस्ट’मा भने बाल्डविन कुख्यात अपराधीको भूमिका देखिने छन्, जसको नाति आकस्मिक हत्याको दोषी ठहरिएको हुन्छ।
सुटिङका दौरान भएको घटनाबाट अहिले पूरै फिल्म क्रु शोकमा परेका छन्। घटनाबारे अझै विस्तृत जानकारी आउन बाँकी छ। प्रहरीले सुटिङमा कसरी र कस्ता प्रकारको प्रोप बन्दुक चलाइएको भनेर अनुसन्धान गरिरहेको बलिउड लाइफले लेखेको छ।