अमेरिकी गायक जेन मलिकले आफ्नी प्रेमिका तथा मोडल जिजि हडिडकी आमालाई पिटेको आरोप लागेको छ।
गत हप्ता गायक जेनले जिजिकी आमा योलन्डा हडिडलाई एक घटनाक्रम पिटेको खबर बाहिर आएको हो। बलिउड लाइफका अनुसार जिजि नभएको बेला योलन्डा जेन र जिजिको घरमा आएकी थिइन्। त्यहीक्रममा जेन र योलन्डाबीच केही भनाभन भएको र जेनले उनीमाथि हात उठाएको आरोप छ।
योलन्डा हडिड पनि अमेरिकी मोडल तथा टेलिभिजन प्रस्तोता थिइन्। उनका दुई छोरी जिजि हडिड र बेल्ला हडिड अहिलेका चर्चित सुपर मोडलमध्ये पर्छन्। आफ्नी जेठी छोरीको बोइफ्रेन्डले पिटेको आरोपमा उनले अब प्रहरीमा उजुरी समेत दिने बताएकी छिन्। उनकाअनुसार उनलाई जेनले किन पिटे भन्ने कारण भने थाहा छैन।
गायक जेन र जिजि केही वर्षयता एकअर्कालाई डेट गरिरहेका छन्। उनीहरुको एक छोरी पनि छिन्।
उनीहरु दुवै मिलेर आफ्नी छोरी खाइलाई हेर्दै आइरहेका छन्। जेन र जिजि छोरी खाइको गोपनीयताबारे निकै गम्भीर छन्। उनीहरुले हालसम्म आफ्नी छोरीको अनुहार सामाजिक सञ्जालमा खुलाएका थिएनन्। तर, योलन्डाले भने उनीहरुको सहमतिबिना खाइको फोटो पत्रपत्रिकालाई दिएको जेनले बताएका छन्।
‘म निकै निजी व्यक्ति हुँ र म मेरी छोरी हुर्काउनको लागि एक निजी र सुरक्षित ठाँउ सिर्जना गर्न चाहान्छु। यस्तो ठाँउ जहाँ पारिवारिक विषय बाहिरका मान्छेले थाहा पाउने छैनन्,’ जेनले आफ्नो ट्विटरमार्फत् भनेका छन्, ‘त्यस्तो ठाँउ बनाउने प्रयासमा मेरो प्रेमिकाको परिवारसँग बहस भइरहेको थियो र बाहिरी संसारलाई खाइ चिनाउने विषयमा म सहमत थिइँन। तर योलन्डाले हाम्रो सहमिताबिना खाइको फोटो पत्रपत्रिकालाई दिइन्। यसैक्रममा जिजि बाहिर भएको बेला उनी हाम्रो घर आएकी थिइन्। हामीबिच झगडा भएको थियो, जसमा कुनै शारीरिक हातपात भएको थिएन। यो कुरा पनि बाहिर ल्याउनु पर्ने थिएन तर म मेरो छोरीलाई चाहिने सुरक्षा र गोपियनता दिइरहने छु।’
छोरी खाइको विषयलाई लिएर जेन र योलन्डाबीच परेको भनाभनको क्रममा गायकले उनलाई पिटेको हुनसक्ने अनुमान गरिएको छ। तर, यता जेन भने योलन्डामाथि हात उठाएको आरोप झुटो रहेको बताइरहेका छन्।
बलिउड अखबार टिएमजेडसँग बोल्दै उनले भनेका छन्, ‘मैले योलन्डा हडिडमाथि प्रहार गरेको कुरामा अस्वीकार गर्छु र मेरो छोरीको लागि यस विषयमा धेरै बोल्न चाहदिन। म आशा गर्छु योलन्डा आफ्नो झुटा आरोपहरुमा पुनर्विचार गर्नेछिन् र यी पारिवारिक समस्याहरु निजी रुपमा मिलाउने छिन्।’