हलिउड अभिनेत्री क्रिस्टिन स्टेवर्ट आफ्नी गलफ्रेन्ड डिलन मेयरसँग बिहे गर्ने तयारीमा छिन्।
चर्चित फिल्म ‘ट्वाइलाइट’की अभिनेत्री क्रिस्टिन गत दुई वर्षदेखि स्क्रिनराइटर डिलनसँग प्रेम सम्बन्धमा थिइन्। अब भने यी जोडी चाँडै बैवाहिक सम्बन्धमा रहने एनडिटिभीले जनाएको छ।
एक कार्यक्रममा क्रिस्टिनले उनी र डिलनको इन्गेजमेन्टको कुरा निकालेसँगै उनीहरुको बिहेबारे हल्ला चलिरहेको हो।
‘हामी चाँडै बिहे गर्दैछौँ,’ क्रिस्टिनले भनेकी छन्, ‘मलाई डिलनले विवाह प्रस्ताव राखोस् भन्ने चाहना थियो र उनले त्यो पूरा गरिसकेकी छिन्। अब हामी वैवाहिक जीवन सुरू गर्नेछौँ।’
क्रिस्टिन र डिलन सन् २०१९ देखि डेट गरिरहेको अनुमान छ। न्यूयोर्कमा एकअर्कालाई चुम्बन गरेको देखेपछि उनीहरूको सम्बन्धबारे चर्चा सुरू भएको थियो।
‘हरेक दिन म आफ्नो गलफ्रेन्डसँग बाहिर हिँड्दा अरूले हाम्रो फोटो खिच्छन् भनेर मलाई थाहा थियो तर पनि मलाई हाम्रो सम्बन्धबारे कुरा गर्न मन थिएन,’ गत वर्ष एक म्यागजिनमा अन्तर्वार्ता दिनेक्रममा क्रिस्टिनले भनेकी थिइन्, ‘म एक किसिमको दबाब महशुस गरिरहेकी थिएँ। मानिसहरू हाम्रो तस्बि हेरिरहेका थिए र हाम्रोबारे लेखिएका समाचार पढिरहेका थिए। म त्यतिबेला सानै थिए। व्यक्तिगत रूपमा नै आफूलाई अपमानित महशुस गरिरहेको थिए। अहिले भने यसलाई म सामान्य रूपमा लिइरहेको छु। मैले लिएको निर्णयले संघर्ष गरिरहेका अन्य व्यक्तिलाई अझ सहज पार्ने कुराले म खुसी छु।’
डिलन मेयर स्क्रिनराइटरका साथै अभिनेत्री पनि हुन्। उनले ‘मोक्सी’, ‘रक बटम’ र ‘मिस २०५९’ जस्ता हलिउड फिल्ममा अभिनय गरेकी छिन्। यता क्रिस्टिन भने नयाँ फिल्म ‘स्पेन्सर’ मा बेलायती राजकुमारी डायनाको मुख्य भूमिका खेल्दै छिन्।
यसअघि क्रिस्टिनले सुपर मोडल स्टेला म्याक्सवेल र ‘ट्वाइलाइट’ अभिनेता रोबर्ट प्याटिन्सनलाई डेट गरेकी थिइन्।